काठमाडौँ। राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम घिमिरेले विभिन्न सहकारीमा जम्मा भएको अर्बौँ रुपैयाँ बचत हिनामिना भएको विषयमा प्रश्न उठाएका छन्। आइतबार खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेतर्फ लक्षित गर्दै सहकारी रकमसम्बन्धी प्रश्न उठाएका हुन्। घिमिरेले विभिन्न सहकारीमा जम्मा भएको अर्बौँ रुपैयाँ बचत ठगी भएको दाबी गर्दै त्यस विषयमा गम्भीरतापूर्वक छानबिन र जवाफदेहिता आवश्यक रहेको बताए। साथै, जलवायु परिवर्तनका कारण भोटेकोशीमा आएको बाढीबाट अर्बौँ रुपैयाँको क्षति भएको उल्लेख गर्दै त्यसको क्षतिपूर्ति आवश्यक रहेको धारणा राखे। उनले आफूहरूले संघर्ष गरेर ल्याएको गणतन्त्रसमेत संकटमा परेको बताए। सहकारी रकम हिनामिनाबारे बोल्दै गर्दा कार्यक्रममा केही सहभागीले हुटिङसमेत गरेका थिए।