काठमाडौँ। श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना व्यक्त गर्दै राईले आफू कांग्रेसको प्रतिस्पर्धीका रूपमा नभई नेपालको लोकतान्त्रिक इतिहासको साक्षी बन्न उपस्थित भएको बताए।
राईले नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना र संस्थागत विकासमा नेपाली कांग्रेसको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै महाधिवेशनले समृद्ध राष्ट्र निर्माणका लागि आवश्यक ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले पछिल्लो समय नेपालको राजनीतिमा सत्ता केन्द्रित प्रतिस्पर्धा हाबी भएको भन्दै अब कुन पार्टीले कति वर्ष सत्ता चलाउने वा कति पटक सरकारमा जानेभन्दा कुन पार्टीले जनताका लागि कति राम्रो काम गर्ने भन्ने विषयमा प्रतिस्पर्धा हुनुपर्ने बताए।
आफ्ना पार्टी अध्यक्षको भनाइ उद्धृत गर्दै राईले राजनीतिक दलहरू अब कामको प्रतिस्पर्धामा केन्द्रित हुनुपर्नेमा जोड दिए। साथै, देश निर्माणका लागि नयाँ पुस्तालाई राजनीतिमा अगाडि बढाउनुपर्ने धारणा राख्दै उनले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई समेटेर अघि बढ्न सके मात्र देशले विकासको गति लिन सक्ने बताए। “राजनीतिमा अब नयाँ पुस्ताको हस्तक्षेपकारी भूमिका आवश्यक छ,” उनले भने।