चितवन । बर्खाका कारण गत असार १७ गतेदेखि बन्द रहेको चितवन राष्ट्रिय निकुञ्जभित्रको जिप सफारी असोज २३ गते शुक्रबारदेखि सञ्चालन गर्ने तयारी गरिएको छ। वर्षाका कारण आएको भलबाढीले निकुञ्जभित्रका विभिन्न सफारी रुटमा क्षति पुर्याएपछि मर्मत तथा ढलेका रुख हटाउने काम भइरहेको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए।
उनका अनुसार असोजको दोस्रो सातादेखि नै जिप सफारी सञ्चालन गर्ने तयारी गरिएको भए पनि सोही समयमा आएको ठूलो वर्षाका कारण विभिन्न खोल्सा तथा खोलामा बाढी आएर रुटहरू थप बिग्रिएका थिए। अहिले ती रुट मर्मत गरी सफारी सञ्चालनका लागि तयारी भइरहेको छ।असोज दोस्रो साता रिउ खोलामा आएको बाढीले निकुञ्जको टाइगरटप्स क्षेत्रमा जाने रुटमा बढी क्षति पुर्याएको छ। उक्त क्षेत्रमा ग्राभेल हालेर रुट सञ्चालनयोग्य बनाउने काम भइरहेको थापामगरले बताए।
निकुञ्जभित्र जिप सफारी बन्द भए पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनमा भने जिप तथा हात्ती सफारी नियमित रूपमा सञ्चालन हुँदै आएको छ। निकुञ्जभित्र हात्ती सफारी भने अन्य समयमा पनि सञ्चालन गर्न पाइँदैन। बर्खाका तीन महिना जिप सफारी बन्द रहे पनि जंगल वाक भने निरन्तर सञ्चालन हुने गरेको छ।चितवन राष्ट्रिय निकुञ्जमा हरेक वर्ष दुई लाखभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन्। विशेषगरी विदेशी पर्यटकले जिप सफारीलाई बढी प्राथमिकता दिने गरेका छन् भने नेपाली पर्यटकको आकर्षण पनि उत्तिकै रहेको छ। निकुञ्जले जिप सफारीबाट हरेक वर्ष करोडौं रुपैयाँ आम्दानी गर्दै आएको छ।निकुञ्जले प्रतिजिप ५ हजार रुपैयाँ प्रवेश शुल्क लिँदै आएको छ। विदेशी पर्यटकका लागि प्रवेश शुल्क २ हजार, सार्क मुलुकका पर्यटकका लागि १ हजार र नेपाली पर्यटकका लागि १५० रुपैयाँ शुल्क तोकिएको छ। सौराहा क्षेत्रबाट ३०, कसाराबाट १०, मेघौलीबाट ७ र अमलटारीबाट ५ वटा जिप निकुञ्जभित्र सञ्चालन हुने गरेका छन्। एउटा जिपमा अधिकतम १० जनासम्म पर्यटक अट्ने व्यवस्था छ।