काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले कांग्रेस सभापति गगन थापालाई लक्षित गर्दै कांग्रेसको वर्तमान अवस्थाप्रति कडा टिप्पणी गरेका छन् । कांग्रेसको महाधिवेशन सुरु भएको सन्दर्भमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सिंहले कांग्रेसबाट नेता तथा कार्यकर्ता बाहिरिनुको कारण उनीहरू आफैं नभई पार्टी नेतृत्वले नै पार्टीको जिम्मेवारी गलत व्यक्तिहरूको हातमा सुम्पिएपछि बाहिरिन बाध्य भएको आरोप लगाएका छन् । उनले लोकतन्त्रका लागि संघर्ष गरेको पार्टी आजको अवस्थामा पुग्नुमा नेतृत्वले जिम्मेवारी लिनुपर्ने बताउँदै इतिहासको गौरव मात्र गाएर नपुग्ने टिप्पणी गरेका छन् । सिंहले लोकतन्त्र ल्याएको पार्टीको नाममा राजनीति गर्दै त्यही पार्टीको जग कमजोर बनाउनु विडम्बनापूर्ण भएको उल्लेख गरेका छन् । पूर्वकांग्रेस सांसदसमेत रहेका सिंह गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट रास्वपाका उम्मेदवार बनेका थिए, जहाँ उनले कांग्रेस सभापति गगन थापालाई पराजित गरेका थिए ।