जलवायु सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री खनाल फिजी पुगे

जलवायु सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री खनाल फिजी पुगे

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल फिजी पुगेका छन्। फिजी र टुभालुमा असोज १९ र २० गते आयोजना हुने कार्यक्रममा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सोमबार फिजी पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्री खनालले असोज २० गते आयोजना हुने नेताहरूको पूर्ण सत्र (लिडर्स प्लेनरी)लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उक्त सत्रअघि पलाउका राष्ट्रपति तथा अस्ट्रेलिया र फिजीका प्रधानमन्त्रीको उपस्थितिमा सञ्चारकर्मीसँग आयोजना हुने प्रश्नोत्तर कार्यक्रममा पनि उनी सहभागी हुनेछन्। जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी संवाद र सहकार्यलाई अगाडि बढाउने उद्देश्यले आयोजित कार्यक्रममा नेपालको सहभागिताले जलवायु परिवर्तनका असर, जलवायु न्याय तथा हिमाली राष्ट्रका सरोकारलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

फिजी र टुभालुका कार्यक्रम सम्पन्न गरेपछि परराष्ट्रमन्त्री खनाल अस्ट्रेलिया प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ। असोज २२ गते उनले अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। भेटवार्ताका क्रममा नेपाल–अस्ट्रेलिया सम्बन्ध, द्विपक्षीय सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ।अस्ट्रेलिया भ्रमणका क्रममा मन्त्री खनालले क्यानबेरास्थित नेपाली दूतावास र सिड्नीमा नेपाली डायस्पोराद्वारा आयोजना हुने छुट्टाछुट्टै कार्यक्रममा सहभागी भई त्यहाँस्थित नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन्। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल असोज २६ गते नेपाल फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार