• २०८३ असोज २० गते मङ्गलवार
  • Preeti To Unicode

पशुपतिनाथको प्रवेश व्यवस्था कडा बनाउन विश्व हिन्दु परिषद्को माग

पशुपतिनाथको प्रवेश व्यवस्था कडा बनाउन विश्व हिन्दु परिषद्को माग

काठमाडौँ । विश्व हिन्दु परिषद् नेपालले पशुपतिनाथ मन्दिरको प्रवेश व्यवस्थालाई थप प्रभावकारी बनाउँदै सुरक्षा तथा अनुगमन प्रणाली कडा बनाउन माग गरेको छ। परिषद्को मठ–मन्दिर, अर्चक, पुरोहित विभागले मंगलबार जारी गरेको विज्ञप्तिमा पशुपतिनाथ मन्दिरमा परम्परादेखि हिन्दु धर्मावलम्बीबाहेक अन्यलाई गर्भगृह तथा मूल मन्दिर क्षेत्रमा प्रवेश निषेध रहेको उल्लेख गर्दै यस्तो व्यवस्था कुनै समुदायप्रति विभेद गर्ने उद्देश्यले नभई मन्दिरको धार्मिक परम्परा, आस्था, संस्कार र विशिष्ट पूजा पद्धतिको संरक्षणका लागि कायम गरिएको जनाएको छ।

पछिल्लो समय सार्वजनिक भएको एक भिडियोमा उक्त व्यवस्थाविपरीतको दृश्य देखिएको भन्दै परिषद्ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संविधानले सुनिश्चित गरेको धार्मिक स्वतन्त्रता र सबै धर्म तथा समुदायप्रतिको सम्मानमा आफूहरू विश्वास गर्ने उल्लेख गर्दै परिषद्ले धार्मिक स्वतन्त्रताको अर्थ अर्को धर्मको विशिष्ट धार्मिक स्थलमा प्रचलित नियम तथा परम्परा उल्लङ्घन गर्ने अधिकार नभएको स्पष्ट पारेको छ। यस्तो घटनाले पशुपति क्षेत्र विकास कोषको सुरक्षा, अनुगमन तथा व्यवस्थापन प्रणालीमाथि प्रश्न उठाएको परिषद्को भनाइ छ। घटनाहरू दोहोरिन नदिन मन्दिरको प्रवेश व्यवस्थालाई थप प्रभावकारी बनाउन, सुरक्षा तथा अनुगमन प्रणाली कडाइ गर्न र दोषी देखिएका व्यक्तिमाथि प्रचलित कानुन तथा नियमअनुसार कारबाही गर्न परिषद्ले माग गरेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार