काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको बाढी तथा विपद्को वास्तविक कारणबारे गम्भीर वैज्ञानिक अनुसन्धान गर्न सरकारसँग माग गरेकी छन्। सिंहदरबारमा मंगलबार बसेको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्’सम्बन्धी संसदीय विशेष समितिको बैठकमा बोल्दै उनले बाढीका क्रममा देखिएको असामान्य रासायनिक गन्ध तथा पाउडरजस्तो पदार्थबारे समेत वैज्ञानिक परीक्षण आवश्यक रहेको बताइन्।
सांसद लामाले बाढीबाट स्थानीय समुदायको थातथलो नै मेटिने गरी क्षति पुगेको उल्लेख गर्दै प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण गराइन्। बाढीपछि देखिएको असामान्य गन्ध र माटो वा बालुवाभन्दा फरक प्रकृतिको पाउडरजस्तो पदार्थको उपस्थितिबारे सरकारी तहबाटै वैज्ञानिक अध्ययन र परीक्षण गरिनुपर्ने उनको भनाइ छ।उनले धादिङ, गोरखा र नुवाकोटका त्रिशूलीपारिका बस्तीलाई जोड्ने फुर्के खोलामा तत्काल बेलीब्रिज निर्माण गर्नुपर्ने बताइन्। साथै तिप्लिङ–साँकोस–सोमदाङ सडकलाई दिगो रूपमा स्तरोन्नति गरी भविष्यमा विपद्का बेला वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने अवस्थामा राख्नुपर्नेमा उनले जोड दिइन्।
बौद्ध धर्मावलम्बीहरूको परम्पराअनुसार मृतकको काजकिरिया तथा संस्कारका लागि स्थानीय तह र लामा गुरुहरूसँग समन्वय गरी ४९ दिनभित्र सामूहिक रूपमा आवश्यक संस्कार सम्पन्न गर्ने व्यवस्था मिलाउन पनि सांसद लामाले माग गरिन्। अभिभावक गुमाएका बालबालिका तथा सहारा गुमाएका वृद्धवृद्धाका लागि उनीहरूको इच्छाअनुसार दीर्घकालीन संरक्षण र पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। लामाले भविष्यमा यस्ता विपद् दोहोरिन नदिन सरकारको पूर्वतयारी, विपद्को वास्तविक कारण तथा हिमताल फुट्नुका कारणबारे वैज्ञानिक अध्ययन आवश्यक रहेको बताइन्। पूर्वाधार निर्माणका क्रममा पर्याप्त प्राविधिक अध्ययन र जोखिम मूल्याङ्कन नगर्दा विपद्को जोखिम बढ्न सक्ने उल्लेख गर्दै उनले आगामी दिनमा ‘डोजर संस्कृति’लाई निरुत्साहित गर्नुपर्ने सुझाव दिइन्। राहत वितरणमा भइरहेको ढिलाइप्रति समेत प्रश्न उठाउँदै सांसद लामाले वास्तविक लाभग्राहीको पहिचान गरी यथाशीघ्र राहत रकम उपलब्ध गराउन सरकारसँग माग गरिन्। सडक, पुल तथा ठूला पूर्वाधार निर्माण गर्दा स्थानीय दबाबभन्दा प्राविधिक अध्ययन, वैज्ञानिक मापदण्ड र जोखिम मूल्याङ्कनलाई अनिवार्य आधार बनाउनुपर्नेमा उनले जोड दिइन्।