• २०८३ असोज २० गते मङ्गलवार
  • Preeti To Unicode

धरानमा बढ्दो साइक्लिङ संस्कृति : स्वास्थ्यदेखि पर्यटन र रोजगारीसम्म

धरानमा बढ्दो साइक्लिङ संस्कृति : स्वास्थ्यदेखि पर्यटन र रोजगारीसम्म

सुनसरी । ‘लाहुरेको सहर’का रूपमा परिचित धरान पछिल्लो समय साइक्लिङका लागि पनि चिनिन थालेको छ । आधुनिक जीवनशैली र फेसनेबल सहरका रूपमा परिचित धरानका सडकदेखि आसपासका डाँडाकाँडा र ग्रामीण क्षेत्रसम्म साइकल चलाउने युवाको सङ्ख्या बढ्दो छ । साइकललाई मनोरञ्जन र यात्राको साधनमा मात्र सीमित नराखी खेलकुद, साहसिक यात्रा, पर्यटन र रोजगारीसँग जोड्ने युवाहरूको सङ्ख्यासमेत बढिरहेको छ ।धरान–११ का १८ वर्षीय दीपसागर तामाङको साइकल यात्रा अहिले साहसिक तथा प्रतिस्पर्धात्मक साइक्लिङसम्म पुगेको छ । सानै उमेरदेखि साइकल चलाउन रुचि राख्ने तामाङ जुनियर नेसनल च्याम्पियनसमेत भइसकेका छन् । साथीहरूले साइकल चलाएको देखेर आफूलाई पनि साइकल चलाउने रहर जागेको र आमाबुबाले साइकल किनिदिएपछि यात्रा सुरु भएको उनले बताए । “साथीहरूको साइकल देखेर मलाई पनि चलाउन मन लाग्यो । अनि आमा, बुबाले साइकल किनिदिनुभयो र चलाउन थालेँ । साइकलिङ अहिले मेरो जीवनकै महत्त्वपूर्ण हिस्सा बनेको छ,” उनले भने ।तामाङले नेपालका पोखरा, काठमाडौँ, ओखलढुङ्गा, गाईघाटलगायत विभिन्न स्थानसँगै भारतको आसामसम्म साइकल यात्रा गरिसकेका छन् । उनको साइकल यात्रा अहिले माउन्टेन बाइकिङको प्रतिस्पर्धात्मक यात्रामा परिणत भएको छ । उनको महत्त्वपूर्ण अनुभवमध्ये कञ्चनजङ्घा आधार शिविरसम्मको साइकल यात्रा पनि एक हो । ताप्लेजुङमा गत वर्ष आयोजना गरिएको ‘सिरिजङ्घा पर्यटन महोत्सव–२०८२’ अन्तर्गत तामाङसहित चार जनाको टोलीले कञ्चनजङ्घा आधार शिविरसम्म साइकल यात्रा गरेको थियो । उक्त टोली जुनियर साइक्लिस्टमध्ये कञ्चनजङ्घा आधार शिविर पुग्ने विश्वकै पहिलो टोली भएको बताइएको छ ।धरानबाट सुरु भएको उक्त यात्रा भने सहज थिएन । कठिन भौगोलिक अवस्था, भिरपाखा र अप्ठ्यारो बाटोका कारण कतिपय स्थानमा साइकल चलाएर तथा कतिपय ठाउँमा बोकेर अघि बढ्नुपरेको तामाङले बताए । तीन दिनसम्म कठिन बाटो पार गर्दै टोली कञ्चनजङ्घा आधार शिविर पुगेको उनले सुनाए ।तामाङले अन्नपूर्ण सर्किटमा आयोजना हुने अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस ‘याक अट्याक’ मा समेत सहभागिता जनाइसकेका छन् । लमजुङको बेँसीसहरबाट सुरु भई मनाङ हुँदै मुस्ताङको तातोपानीमा पुगेर समापन हुने सातदिने उक्त प्रतियोगितामा उनले दोस्रो स्थान हासिल गर्दै रु ५० हजार पुरस्कार प्राप्त गरेका थिए । त्यस्तै, ‘२०औँ राष्ट्रिय एमटीबी क्रस कन्ट्री’ तथा ‘१२औँ डाउनहिल च्याम्पियनसिप’ मा उनले जुनियरतर्फ दुवै विधामा प्रथम स्थान हासिल गरेका थिए ।सानै उमेरमा दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ प्रतियोगितामा सहभागी भई उपाधि जितिसकेका तामाङ अहिले साइक्लिङलाई नै आफ्नो भविष्य बनाउन चाहन्छन् । “अहिलेसम्म अन्य क्षेत्रतिर लाग्ने सोच बनाएको छैन । साइक्लिङ खेललाई नै निरन्तरता दिने र यसै क्षेत्रमा अझ राम्रो प्रदर्शन गर्ने लक्ष्य छ,” उनले भने ।

धरानका युवाका लागि भने साइक्लिङको उद्देश्य फरक–फरक छ । कसैले साथीहरूसँग सुरु गरेको साइकल यात्रा खेलकुद र प्रतियोगितासम्म पु¥याएका छन् भने कसैले दैनिक आवतजावत, स्वास्थ्य र मनोरञ्जनका रूपमा साइक्लिङलाई निरन्तरता दिएका छन् । धरान–१२ का अमित श्रेष्ठका लागि साइक्लिङ स्वास्थ्य, मनोरञ्जन र दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा बनेको छ । सडकमा बढ्दो सवारीसाधनको चाप र प्रदूषणबीच आफूलाई सक्रिय तथा स्वस्थ राख्ने माध्यमका रूपमा उनले साइकल चलाउन थालेका हुन् ।“सुरुमा आवश्यकता जस्तो लागेको साइकल चलाउने कुरा बिस्तारै रहर बन्यो र अहिले अभिन्न जीवनशैली बनेको छ,” श्रेष्ठले भने । उनका अनुसार साइकलमा यात्रा गर्दा गति र प्रकृतिको सामीप्यता महसुस गर्न सकिन्छ । यसले शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्छ । साइकल चलाउँदा नयाँ र सकारात्मक विचार आउने उनको अनुभव छ । उकालो, ओरालो र प्राकृतिक वातावरणले भरिएको धरान साइक्लिङका लागि उपयुक्त स्थान भएको उनको भनाइ छ । साइकल यात्राले स्वास्थ्यसँगै आफ्नो भूगोल, प्रकृति र इतिहास बुझ्ने अवसरसमेत प्रदान गरेको छ । सयौँ साइकल यात्री कठिन उकालो पार गर्दै विभिन्न ऐतिहासिक तथा पर्यटकीय गन्तव्यमा पुग्दा स्थानीय पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुगेको छ । साइकललाई केवल यातायातको साधन नभई आफ्नो भूगोल र इतिहासलाई नजिकबाट बुझ्ने माध्यमका रूपमा लिन सकिने साइक्लिस्टहरू बताउँछन् ।मोरङको केराबारीमा जन्मिएका २४ वर्षीय अनिस तामाङको साइकलसँगको सम्बन्ध भने फरक परिस्थितिबाट सुरु भएको हो । करिब १२ वर्षअघि साइकल चलाउन थालेका उनले घरायसी तथा आर्थिक समस्याका कारण कक्षा ८ पछि पढाइ छाड्नुपरेको थियो । आफ्नै साइकल नभएका उनले पत्रिका घरघरमा पु¥याउने काम सुरु गरे । पत्रिका पु¥याएबापत साइकल चलाउन पाइने भएपछि उनको साइकलप्रतिको रुचि झनै बढ्यो ।“करिब सात–आठ वर्षसम्म पत्रिका बाँड्ने काम गरेँ । अरूका घरघरमा पत्रिका पु¥याएबापत साइकल चलाउन पाइन्थ्यो । साइकल चलाउनकै लागि पनि म पत्रिका बाँड्न जान्थेँ,” उनले भने । पत्रिका बाँड्दै साइकल चलाउने क्रममा उनले साइकल यात्राका भिडियो बनाएर युट्युबमा राख्न थाले । पछि आफ्नै साइकल किनेपछि साथीहरूसँग विभिन्न स्थानमा यात्रा गर्न थाले । धरानबाट सिक्किम हुँदै दिल्लीसम्म साइकल यात्रा गरेका उनले एक दिनमा एक सयदेखि दुई सय किलोमिटरसम्म यात्रा गरेको अनुभव सुनाए ।धरानबाट दिल्ली पुग्न उनलाई १९ दिन लागेको थियो । कठिन भए पनि साथीहरूको समूहमा गरिएको उक्त यात्राले नयाँ अनुभव दिएको उनले बताए । उनी विभिन्न साइक्लिङ तथा माउन्टेन बाइकिङ प्रतियोगितामा समेत सहभागी भइसकेका छन् । धरानको पञ्चकन्यामा आयोजित प्रतियोगितामा जुनियरतर्फ तेस्रो स्थान हासिल गर्दै कास्य पदक प्राप्त गरेका उनले तीन वर्षअघि साइकल चलाउँदै भिडियो बनाउने क्रममा काठमाडौँ पुगेका थिए । त्यहाँ नगरकोटमा आयोजित ‘एसियन इन्डो रोड सिरिज’ मा सहभागी भई दोस्रो स्थान हासिल गरेका थिए । धरान–१० का विजय श्रेष्ठ पनि विगत १५ वर्षदेखि साइक्लिङलाई आफ्नो दैनिकी र रुचिको विषय बनाउँदै आएका छन् । उनी धरान बजारदेखि भेडेटार, चिण्डे डाँडा, चतरा र बराहक्षेत्रलगायतका स्थानलाई रुट बनाएर बिहान तथा बेलुका साथीहरूसँग समूहमा साइकल यात्रा गर्छन् । उनले भारतको दार्जिलिङ र सिक्किमसम्म साइकल यात्रा गरिसकेका छन् भने नेपालका पर्सा, नेपालगञ्ज, चितवन, पोखरा, बागलुङ, गुफापोखरी र लुम्बिनीलगायतका स्थानमा आयोजित साइक्लिङ कार्यक्रममा समेत सहभागी हुँदै आएका छन् ।श्रेष्ठका अनुसार साइक्लिङलाई मुख्य रूपमा रेस र इभेन्ट गरी दुई विधामा हेर्न सकिन्छ ।

रेस प्रतिस्पर्धात्मक हुन्छ भने इभेन्टमा नयाँ ठाउँ घुम्ने, नयाँ मानिससँग चिनजान गर्ने र मनोरञ्जन गर्ने अवसर मिल्छ । “साइक्लिङ भनेको साइकल चलाएर मनोरञ्जन लिनु मात्र होइन, यसले शरीरलाई स्वस्थ राख्नुका साथै नयाँ ठाउँ र मानिससँग जोडिने अवसर पनि दिन्छ,” उनले भने ।पछिल्लो समय धरानमा युवाहरूले साइक्लिङलाई सोख र मनोरञ्जनमा मात्र सीमित नराखी पर्यटन र रोजगारीसँग समेत जोड्न थालेका छन् । धरान आउने पर्यटकलाई स्थानीय साइकलिस्टले गाइडका रूपमा विभिन्न गन्तव्यमा घुमाउन थालेका छन् । धरान–११ का दीपक जिमी पनि साइकल गाइडका रूपमा काम गर्दै आएका छन् । दाइले साइकल चलाएको देखेर प्रेरित भएका जिमीले साइकल किनेपछि नियमित रूपमा चलाउन थाले । अहिले उनी विदेशी पर्यटकलाई विभिन्न रमणीय स्थानमा साइकलमार्फत घुमाउँदै आयआर्जनसमेत गर्दै आएका छन् ।धरानमा साइक्लिङप्रति युवाहरूको आकर्षण बढाउन विभिन्न कार्यक्रमसमेत आयोजना हुँदै आएका छन् । पेड्लर्स धरानको आयोजनामा हरेक वर्ष ‘कोरा राइड’ साइक्लिङ च्यालेन्ज सञ्चालन हुँदै आएको छ । पेड्लर्सका अध्यक्ष किसान मास्केका अनुसार उक्त कार्यक्रममा विभिन्न ठाउँबाट तीन सयभन्दा बढी साइक्लिस्ट सहभागी हुने गरेका छन् । बालबालिकादेखि विभिन्न उमेर समूहका व्यक्तिको सहभागिता रहने भएकाले यसले साइक्लिङप्रति आकर्षण बढाउनुका साथै दक्ष साइक्लिस्ट उत्पादनमा समेत सहयोग पु¥याएको छ ।सन् २०१७ देखि धरानमा सुरु भएको ‘कोरा राइड च्यालेन्ज’ सन् २०२४ देखि पेड्लर्स धरानमार्फत साइक्लिस्टलाई सङ्गठित रूपमा सहभागी गराएर सञ्चालन गर्न थालिएको मास्केले बताए । उनका अनुसार साइक्लिङले शारीरिक स्वास्थ्य राम्रो राख्नुका साथै मानसिक तनाव कम गर्नसमेत सहयोग गर्छ । छोटो दूरीको यात्रामा मोटरसाइकलको सट्टा साइकल प्रयोग गर्न सके स्वास्थ्यसँगै वातावरण संरक्षणमा समेत फाइदा पुग्ने उनको भनाइ छ ।साइक्लिङमार्फत धरानका विभिन्न मठमन्दिर, धार्मिक तथा पर्यटकीय स्थलको परिक्रमा गरिनुका साथै धरान तथा आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना रहेको मास्के बताउँछन् । उनका अनुसार धरानमा बजार क्षेत्रदेखि भेडेटार, निडे डाँडा, कार्कीछाप, पानवारी, दानाबारी र सेउतीलगायत विभिन्न स्थानसम्म साइक्लिङका लागि आकर्षक रुट छन् ।तर, धरानमा साइक्लिङका लागि छुट्टै तथा सुरक्षित साइकल लेनको अभाव भने मुख्य चुनौतीका रूपमा रहेको छ । साइक्लिस्टका लागि सुरक्षित र व्यवस्थित साइकल लेन तथा आवश्यक पूर्वाधार निर्माण गर्न सरकारको सहयोग आवश्यक रहेको साइक्लिस्टहरूको भनाइ छ । सुरक्षित पूर्वाधार विस्तार गर्न सके धरानमा साइक्लिङलाई अझ व्यवस्थित बनाउँदै स्वास्थ्य र मनोरञ्जनसँगै पर्यटन तथा रोजगारीको माध्यमका रूपमा विकास गर्न सकिने सम्भावना छ ।प्राकृतिक तथा भौगोलिक विविधताले भरिएको धरानमा साइक्लिङको संस्कृति विस्तार हुँदै जानु स्वास्थ्य र खेलकुदका लागि मात्र नभई पर्यटन विकासका लागि समेत सकारात्मक संकेत हो । युवाको बढ्दो आकर्षण, स्थानीय साइक्लिस्टको सक्रियता र ‘कोरा राइड’जस्ता कार्यक्रमलाई थप व्यवस्थित गर्दै सुरक्षित साइकल लेन तथा आवश्यक पूर्वाधार निर्माण गर्न सके धरानलाई साइक्लिङ पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने देखिन्छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार