काठमाडौँ। नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्गीले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउँदै विभाजित कांग्रेसलाई एकताबद्ध गर्ने उद्देश्यले सभापति पदमा उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत मंगलबार मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै खड्गीले देशमा विद्यमान विषम परिस्थिति, राजनीतिक तरलता र कमजोर बन्दै गएको लोकतन्त्रलाई सुदृढ गर्न आफूले उम्मेदवारी दिएको बताए। उनले कांग्रेसभित्र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको तथा कोठाभित्र एउटा र बाहिर अर्को कुरा गर्ने दोहोरो चरित्र हाबी भएको टिप्पणी गरे। विधि र विधानभन्दा व्यक्ति ठूलो हुने प्रवृत्ति मौलाएको भन्दै उनले पार्टीमा विधि र विधानको सर्वोच्चता पुनःस्थापित गर्न आफू मैदानमा उत्रिएको स्पष्ट पारे। साथै, पार्टीभित्रको विभाजन र गुटबन्दी अन्त्य गर्दै कांग्रेसलाई एक ढिक्का बनाउने आफ्नो लक्ष्य रहेको उनले बताए। महाधिवेशनमा सहभागी जनजाति, दलित, महिला लगायत सबै तह र तप्काका प्रतिनिधिहरूको भावना र एजेन्डालाई आफूले प्रतिनिधित्व गर्ने दाबी गर्दै खड्गीले निर्वाचनमा आफूलाई अमूल्य मत र समर्थन दिएर विजयी गराउन प्रतिनिधिहरूसँग अपिलसमेत गरे।