• २०८१ मङ्सिर १० गते सोमवार
  • Preeti To Unicode

पुँजीगत खर्च र कृषि उत्पादनले नेपालको अर्थतन्त्र सकारात्मक रहेको छ : आईएमएफ


काठमाडौं । पुँजीगत खर्च बढ्ने तथा कृषि उत्पादन राम्रो हुने अपेक्षा भएकाले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले जनाएको छ । बिहीबार सार्वजनिक आईएमएफको एसिया तथा प्यासिफिक क्षेत्रको ‘रिजनल इकोनोमिक आउटलुक’ले यस्तो जनाएको हो ।

दक्षिण एसियाली क्षेत्रमा भारतको आर्थिक वृद्धि ७ प्रतिशत रहने आईएमएफको प्रक्षेपण छ । गत अप्रिलको तुलनामा २ आधार बिन्दुले बढी हो । भारतमा लगानी तथा निजी क्षेत्रको उपभोगमा भएको वृद्धिले आर्थिक वृद्धि सबल भएको आईएमएफको भनाइ छ । आगामी वर्ष पनि भारत संसारका मुख्य अर्थतन्त्रमध्ये सबैभन्दा तीव्र आर्थिक वृद्धि हुने मुलुकमा पर्ने आईएमएफको प्रक्षेपण छ ।

गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव १ प्रतिशत भएको र चालू आवमा त्यसमा बढोत्तरी हुँदै ४ दशमलव ९ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण छ । आर्थिक वृद्धिमा सुधार हुनुमा सहयोगी मौद्रिक नीतिको पनि भूमिका रहने आईएमएफले जनाएको छ ।तर, आईएमएफले गत अप्रिलमा सार्वजनिक गरेको प्रक्षेपणको तुलनामा यस पटकको प्रक्षेपण भने घटाएको छ । यसअघि ५ दशमलव २ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण सार्वजनिक गरिएको थियो ।

त्यस्तै हालै भएको राजनीतिक उथलपुथलका कारण बांङ्लादेशको आर्थिक वृद्धिमा भने नकारात्मक प्रभाव पर्ने प्रतिवेदनले उल्लेख गरेको छ। गत आर्थिक वर्षमा बांङ्लादेशमा ५.८ प्रतिशत आर्थिक वृद्धि भएकोमा यो साल घटेर ५.४ प्रतिशत हुने पनि प्रतिवेदनले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १६ गते शुक्रवार