• २०८१ मङ्सिर १० गते सोमवार
  • Preeti To Unicode

७२ अर्ब बराबरका पाँच आयोजनाको तयारी फास्ट ट्रयाकमा गरिने


काठमाडौं । विश्व बैंकको सहयोगमा ७२ अर्ब रुपैयाँ बराबरका पाँचवटा आयोजनाको तयारी फास्ट ट्रयाकमा नेपालमा सञ्चालन गरिने भएको छ । अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व–पश्चिम राजमार्गको बागमती–पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत् वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्वतयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो ।

विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा सञ्चालित आयोजनाको सम्बन्धित मन्त्रालयले सरोकारवालासँग छलफल गर्नेछन्, भने आवश्यकताअनुसार अर्थ मन्त्रालयले सहजीकरण गर्नेछ ।यसैगरी, तेस्रो चरणको रानीजमरा कुलरिया सिँचाइ र पहुँच तथा उत्थानशीलताका लागि डिजिटल सेवा रूपान्तरणसम्बन्धी आयोजनाको तयारी पनि फास्ट ट्रयाकमा गर्ने निर्णय भएको छ ।

सन् २०२५ को फेब्रुअरीसम्ममा आयोजनासँग सम्बन्धित सबै विषयको टुंगो लगाई पूर्वतयारीको काम सक्ने, तयारी पूरा भएपछि २०२५ को मार्चको बोर्ड बैठकमा ती आयोजनाका प्रस्ताव पेस गरिने योजना छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाको पूर्वतयारीमा विशेष ध्यान दिन र आयोजना स्वीकृत भएपछि कार्यान्वयनमा तदारुकताका साथ लाग्न निर्देशन दिए ।

उनले नेपालले आफ्नो आवश्यकताअनुसार सहयोग लिने र अधिकतम प्रतिफल दिने ठाउँमा लगानी गर्ने बताए । बैठकमा अर्थ मन्त्रालय, भौतिक तथा यातायात मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि र सम्बद्ध पदाधिकारीको उपस्थिति थियो ।

प्रकाशित मिति : २०८१ कार्तिक २२ गते बिहिवार