सुनचाँदीको मूल्य उच्च विन्दुमा, तोलामा १,९०० रुपैयाँको वृद्धि


काठमाडौं  – नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा १,९०० रुपैयाँले उकालो लाग्दै नयाँ कीर्तिमान कायम गरेको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला १,६४,७०० रुपैयाँ पुगेको छ, जुन सोमबार १,६२,८०० रुपैयाँमा कारोबार भइरहेको थियो। चार दिनदेखि स्थिर रहेको सुनको मूल्य मंगलबार अचानक बढेको हो।

त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। सोमबार १,८९५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी मंगलबार ३५ रुपैयाँले बढेर १,९३० रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावकै कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा वृद्धि देखिएको हो। हालैका दिनहरूमा अमेरिका तथा अन्य प्रमुख बजारमा सुनचाँदीको माग बढेकाले मूल्य वृद्धि भएको विश्लेषकहरूको भनाइ छ।

विशेषज्ञहरूका अनुसार आगामी दिनहरूमा पनि अन्तर्राष्ट्रिय बजारका घट्नाक्रम र डलरको भाउको आधारमा सुनचाँदीको मूल्य परिवर्तन हुने अनुमान गरिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार