मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

मिथिलामिथिलाञ्चलमा आजदेखि चैती छठ सुरुञ्चलमा आजदेखि चैती छठ सुरु

८ चैत, जलेश्वर। महोत्तरीसहित नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि चैती छठ पर्व विधिवत सुरु भएको छ। चार दिनसम्म चल्ने यस पर्वमा तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सा लगायतका जिल्लामा धार्मिक विधि अनुसार पूजा आराधना गरिन्छ। महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबास लगायतका शहर तथा गाउँमा पोखरी, तलाउ, नदी तथा नहरका किनारमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गरेको छ।

बाबा जलेश्वरनाथ महादेवका पुजारी कामेश्वर पाठकका अनुसार, यो पर्व सत्य, अहिंसा र सबै जीवप्रति सहानुभूतिका लागि विशेष महत्व राख्दछ। यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ र पारिवारिक सुख, शान्ति, समृद्धि, स्वास्थ्य, रोग मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने आशा राखिन्छ।

पर्वको चार दिनको विधि अनुसार पहिलो दिन (आज) व्रतीहरूले नुहाएर शुद्ध हुने “नहा-खा” गर्छन्। दोस्रो दिन उपवास (खर्ना) बसेर राति बिना नुनका खानेकुरा खाने चलन छ। तेस्रो दिन (षष्ठी) साँझ गहुँ र चामल पिसेर तयार गरेका विभिन्न पकवान, फलफूल र अन्य अर्घ सामग्रीसहित छठ घाटमा गएर अस्ताउँदो सूर्यलाई अर्घ दिने प्रचलन छ। चौथो दिन (सप्तमी) बिहान उदाउँदो सूर्यलाई अर्घ दिई व्रत सम्पन्न गरिन्छ।

ऐतिहासिक दृष्टिले, महाभारत अनुसार पाण्डव र द्रौपदीले अज्ञातवासमा सूर्यपूजा गरेर सफलताको कामना गरेका थिए। सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेकी थिइन्, जसले अटल सौभाग्य र प्रेम पाएकी थिइन्। धार्मिक आस्थासँगै सामाजिक सद्भावका रूपमा पनि यो पर्व महत्त्वपूर्ण मानिन्छ। हिन्दू र मुस्लिम समुदायले समेत यस पर्वमा सहभागिता जनाउँछन्। छठमा चढाइने पदार्थको संख्या ७० पुर्याउनुपर्छ भन्ने परम्परा भए पनि सानो मात्रामा पनि भगवान प्रसन्न हुने विश्वास छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार