• २०८३ बैशाख १५ गते मङ्गलवार
  • Preeti To Unicode

वैज्ञानिकहरूले कोभिड-१९ खोपपछि हुने दुर्लभ रगत जम्ने समस्याको कारण पत्ता लगाए

वैज्ञानिकहरूले कोभिड-१९ खोपपछि हुने दुर्लभ रगत जम्ने समस्याको कारण पत्ता लगाए

वैज्ञानिकहरूले केही कोभिड-१९ विरुद्धका खोप लगाएपछि विरलै देखिने ‘रगत जम्ने’ (ब्लड क्लट्स) समस्याको मुख्य कारण पत्ता लगाएका छन्। Flinders University र जर्मनीको University of Greifswald का शोधकर्ताहरू सम्मिलित अन्तर्राष्ट्रिय टोलीले वर्षौँदेखि रहस्य बनेको यो समस्याको आणविक कारण फेला पारेको दाबी गरेको हो।

अध्ययन अनुसार मानव शरीरको प्रतिरक्षा प्रणालीले एडेनोभाइरसमा आधारित खोप वा प्राकृतिक संक्रमणपछि कहिलेकाहीँ गल्ती गर्ने गरेको देखिएको छ। शरीरले भाइरसको प्रोटिन र रगतमा हुने प्लेटलेट फ्याक्टर ४ (PF4) बीचको भिन्नता छुट्याउन नसक्दा, प्रतिरक्षा प्रणालीले आफ्नै रगतको प्रोटिन विरुद्ध एन्टिबडी बनाउन थाल्छ। यसले रगतमा असामान्य रूपमा थक्का (क्लट) बन्ने प्रक्रिया सुरु गराउँछ, जसलाई VITT भनिन्छ। यो समस्या अत्यन्तै दुर्लभ भए पनि केही व्यक्तिहरूमा विशेषगरी AstraZeneca जस्ता एडेनोभाइरस-आधारित खोप लगाएपछि देखिएको थियो।

अनुसन्धानकर्ताहरूले मास स्पेक्ट्रोमेट्री सिक्वेन्सिङ जस्ता आधुनिक प्रविधि प्रयोग गरेर भाइरस प्रोटिन र PF4 बीचको समानता पहिचान गरेका छन्। उनीहरूका अनुसार यही “झुक्क्याउने” जैविक प्रक्रिया नै रोगको मुख्य कारण हो। यो खोजलाई वैज्ञानिकहरूले खोपपछि हुने प्रतिरक्षा प्रतिक्रियाको “मिसिङ लिंक”का रूपमा व्याख्या गरेका छन्।

यो अध्ययनले भविष्यमा खोप डिजाइनमा सुधार गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। वैज्ञानिकहरूका अनुसार भाइरसको केही प्रोटिन संरचना परिमार्जन गर्न सकिएमा यस्तो जोखिम घटाउन वा हटाउन सकिन्छ, जसले अझ सुरक्षित खोप विकास गर्ने बाटो खोल्नेछ।

प्रकाशित मिति : २०८२ चैत्र २९ गते आइतवार