• २०८३ बैशाख १५ गते मङ्गलवार
  • Preeti To Unicode

३३ अर्बका मेगा प्रोजेक्टले फेरिँदै पोखराको मुहार

३३ अर्बका मेगा प्रोजेक्टले फेरिँदै पोखराको मुहार

पोखरा महानगरपालिकामा हाल ३३ अर्ब रुपैयाँभन्दा बढी लागतका ठूला तथा गौरवका विकास आयोजनाहरू सञ्चालनमा रहेका छन्। मेयर धनराज आचार्यका अनुसार अन्तर्राष्ट्रिय दातृ निकायहरूसँगको सहकार्यमा पोखरामा ऐतिहासिक र दीर्घकालीन विकासका कामहरू अघि बढाइएका छन्।

प्रमुख आयोजनामध्ये कोरियाली सरकारको करिब सवा २ अर्ब रुपैयाँ सहयोगमा अत्याधुनिक प्रदर्शनी केन्द्र निर्माण भइरहेको छ। उक्त भवनको डिजाइन पोखराको पहिचान झल्किने गरी ‘घोप्टिएको डुङ्गा’ आकारमा हुने बताइएको छ। यो संरचना आफैंमा नयाँ पर्यटकीय आकर्षण बन्ने अपेक्षा गरिएको छ। साथै, यस परियोजनाबाट करिब ३ हजार जनालाई रोजगारी प्राप्त हुने लक्ष्य राखिएको छ।

त्यस्तै, KOICA को करिब २ अर्ब रुपैयाँ सहयोगमा अत्याधुनिक जलन (बर्न) उपचार केन्द्र निर्माण कार्य अघि बढिरहेको छ। यसले पश्चिम नेपालमा गुणस्तरीय स्वास्थ्य सेवाको विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Asian Development Bank को सहयोगमा लेखनाथस्थित पुरानो भवन रहेको स्थानमा विपद् व्यवस्थापन केन्द्र निर्माणको टेन्डर प्रक्रिया अघि बढिसकेको छ। साथै, पोखराका सबै तालहरूलाई आपसमा जोड्ने गरी साइकल लेन निर्माण गर्ने परियोजना पनि कार्यान्वयनको चरणमा रहेको छ।यसैगरी, शान्ति वाटिकामा बोटानिकल गार्डेन निर्माणको काम जारी छ। पोखराको पुरानो बजार क्षेत्रलाई हनुमानढोका वा बन्दीपुर शैलीमा ‘हेरिटेज साइट’ का रूपमा विकास गर्ने गुरुयोजना समेत तयार गरिएको महानगरपालिकाले जनाएको छ।

पञ्चासे क्षेत्रमा करिब सवा अर्ब रुपैयाँ लागतमा रिसर्च सेन्टर निर्माणसँगै दुई लेन स्तरीय सडक निर्माण कार्य पनि अघि बढिरहेको छ।“उज्यालो पोखरा” कार्यक्रम अन्तर्गत शहरका प्रमुख चोकहरूमा हाईमास्ट बत्ती जडान गरिएको छ भने मुख्य बजार क्षेत्रमा विद्युत् तारहरूलाई भूमिगत (अण्डरग्राउन्ड) गर्ने कार्य तीव्र गतिमा अघि बढिरहेको छ।

यी सबै आयोजनाहरूले पोखरालाई आधुनिक, सुरक्षित, व्यवस्थित तथा पर्यटकीय दृष्टिले अझ आकर्षक शहरका रूपमा विकास गर्ने लक्ष्य लिइएको महानगरपालिकाले जनाएको छ।

प्रकाशित मिति : २०८२ चैत्र २९ गते आइतवार