चोरी भएको प्रस्तर बुद्ध मूर्ति आफ्नै मूल आसनमा पुनःस्थापित

चोरी भएको प्रस्तर बुद्ध मूर्ति आफ्नै मूल आसनमा पुनःस्थापित

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२३ जोरगणेश ओमबहालस्थित न्हुछे बहा (बज्रधातु विहार) बाट चोरी भएको पुरातात्विक तथा धार्मिक महत्वको प्रस्तर बुद्ध मूर्ति आफ्नै मूल आसनमा पुनःस्थापित गरिएको छ । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित टिबेट हाउस कलेक्सनमा पुगेको उक्त मूर्ति वि.सं. २०७८ फागुन १८ गते नेपाल फिर्ता ल्याइएको थियो । पुरातत्त्व विभाग र सम्पदा अभियन्ताहरूको पहलमा फिर्ता ल्याई राष्ट्रिय सङ्ग्रहालयमा संरक्षणका लागि राखिएको मूर्तिलाई पछि पुनः मूल स्थानमै फर्काइएको हो ।

मूर्तिलाई मूल स्थानमा पुनःस्थापना गर्ने क्रममा वैशाख १७ गते काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल, वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जन, पुरातत्त्व विभागका प्रतिनिधि, गुठियार अमर शाक्य, सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ, अधिवक्ता सञ्जय अधिकारीलगायत सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी भएका थिए । प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा २० (क) अनुसार मूर्तिको संरक्षण र सुरक्षाको जिम्मेवारी सम्बन्धित गुठियारलाई दिने कानुनी प्रक्रिया पूरा गरी राष्ट्रिय सङ्ग्रहालयका प्रमुख अरुणा नकर्मीले मूर्ति हस्तान्तरण गरेकी थिइन् । त्यसपछि मूर्तिलाई हनुमानढोका हेरचाह अड्डामा राखिएको थियो ।

बुद्ध जयन्तीको अवसर पारेर वैशाख १८ गते बाजागाजासहित मूर्तिलाई विहारमा पुर्‍याई मूल आसनमा पुनःस्थापित गरिएको हो । यस अवसरमा कार्यवाहक प्रमुख डङ्गोलले मूर्तिहरू केवल आकृति नभई समुदायको सांस्कृतिक जीवनसँग गहिरो सम्बन्ध बोकेको बताउँदै सम्पदा संरक्षणमा महानगर प्रतिबद्ध रहेको उल्लेख गरिन् । वडा अध्यक्ष महर्जनले मूर्ति पुनःस्थापनाले वडाको सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाएको बताए भने राष्ट्रिय सङ्ग्रहालय प्रमुख नकर्मीले स्थानीय सरकार र समुदायबीचको सहकार्य सम्पदा संरक्षणको उत्कृष्ट उदाहरण भएको धारणा राखिन् ।

प्रकाशित मिति : २०८३ बैशाख १९ गते शनिवार