काठमाडौँ । रेखा थापाको निर्देशनमा बनेको चलचित्र **‘माया भनेकै यस्तो होला’**को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरिएको छ । निर्माण कम्पनी दिया एन्ड अमु फिल्मस् प्रालिले विज्ञप्ति जारी गर्दै भदौ २६ गतेका लागि तय गरिएको चलचित्रको प्रदर्शन मिति परिवर्तन गरिएको जानकारी दिएको हो ।
गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सिर्जित असहज परिस्थितिलाई मध्यनजर गर्दै अहिले चलचित्र प्रदर्शन गर्नु उपयुक्त नहुने निर्माण पक्षले जनाएको छ । निर्माता दिल श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा देश पीडा र दुःखमा रहेका बेला मनोरञ्जनात्मक सामग्री प्रस्तुत गर्नु उचित नठानेर प्रदर्शन स्थगित गर्ने निर्णय गरिएको उल्लेख छ ।
प्रदर्शन मिति स्थगित भएसँगै चलचित्र अब नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अवसर पारेर कात्तिक २० गते प्रदर्शनमा आउने भएको छ । अचानक प्रदर्शन मिति सार्नुपरेकोमा दर्शक तथा सम्बन्धित सरोकारवालामा पर्न गएको असुविधाप्रति निर्माण टोलीले क्षमासमेत मागेको छ ।
चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह मुख्य भूमिकामा छन् । लक्ष्मी गिरी, रवि डंगोल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र विनोद पौडेललगायत कलाकारको पनि अभिनय रहेको छ । हरिनारायण श्रेष्ठ, मायादेवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता रहेको चलचित्रमा ध्रुव लम्सालको पटकथा रहेको छ ।
चलचित्रले सुमधुर प्रेमकथामार्फत सामाजिक भावना र नेपाली परिवेशलाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ । सुदीप बरालको छायाङ्कन रहेको चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, प्रशान्त शिवाकोटी संगीत, सुजेनी मल्ल ड्रेस डिजाइन, प्रिया कार्की मेकअप र चूडामणि (सीएम) प्रोडक्सनमा छन् ।