काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको क्षति न्यूनीकरण गर्दै अर्थतन्त्रलाई पुनरुत्थान गर्न सरकारले विदेशी सहायता परिचालनदेखि आन्तरिक अर्थतन्त्र सुदृढीकरणसम्मका कार्यक्रम अघि बढाएको छ। अर्थसचिव घनश्याम उपाध्यायका अनुसार बाढीपछिको राहत तथा पुनर्निर्माणका लागि हालसम्म विभिन्न देशबाट राहत तथा प्राविधिक सामग्री प्राप्त भएको छ भने अमेरिकी विकास नियोगबाट ५ मिलियन अमेरिकी डलर अनुदान र ०.१५ मिलियन डलर प्राविधिक सहायता तथा चिनियाँ सरकारबाट २ मिलियन अमेरिकी डलर अनुदान प्राप्त भएको छ। त्यस्तै, विश्व बैंकको क्याट डिडिओ सुविधाअन्तर्गत ८.५ मिलियन अमेरिकी डलर प्राप्त भइसकेको र थप १५० मिलियन डलर स्ट्यान्डबाइमा राखिएको छ। बाढीपहिरोका कारण सडक तथा आपूर्ति सञ्जाल अवरुद्ध हुँदा भन्सार र राजस्व संकलनमा असर परेकाले रसुवागढी नाकाबाट आउनुपर्ने मालवस्तु कोरोला नाकाबाट ल्याउने व्यवस्था मिलाइएको छ। निजी क्षेत्रको पुनरुत्थानका लागि अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र नेपाल राष्ट्र बैंकको समन्वयमा व्यवसाय पुनरुत्थान प्याकेज कार्यान्वयनमा ल्याइएको छ, जसमा वित्तीय, मौद्रिक तथा बिमा क्षेत्रका सहुलियत समावेश छन्। पूर्वाधार पुनर्निर्माणका लागि पाँचवटा कार्यदल गठन गरी बेलिब्रिज जडान, खानेपानी, सरसफाइ, उद्धार तथा पुनर्निर्माणका काम अघि बढाइएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेको नेतृत्वमा व्यवसाय पुनरुत्थान, पुँजी बजार सुधार, निजी लगानी प्रोत्साहन, अन्तर्राष्ट्रिय दातृ निकायबाट स्रोत जुटाउने तथा नेपाललाई एफएटीएफको ग्रे लिस्टबाट बाहिर निकाल्ने नीतिगत सुधारलाई प्राथमिकतामा राखिएको अर्थसचिव उपाध्यायले जानकारी दिएका छन्।