• २०८३ असोज १६ गते शुक्रवार
  • Preeti To Unicode

राष्ट्रियसभाको २१औँ अधिवेशन सम्पन्न, ६ विधेयक पारितदेखि विपद् व्यवस्थापनसम्मका काम

राष्ट्रियसभाको २१औँ अधिवेशन सम्पन्न, ६ विधेयक पारितदेखि विपद् व्यवस्थापनसम्मका काम

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाको २१औँ अधिवेशन शुक्रबार औपचारिक रूपमा सम्पन्न भएको छ। गत वैशाख २८ गतेदेखि असोज १६ गतेसम्म चलेको १४५ दिने अधिवेशनमा ५२ वटा बैठक बसेका थिए। अधिवेशन अवधिभर सभाले ९८ घण्टा १० मिनेट समय विभिन्न संसदीय प्रक्रिया पूरा गर्न खर्चिएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा जानकारी दिए।अधिवेशनका क्रममा अध्यादेशलाई प्रतिस्थापन गर्ने प्रतिनिधिसभा सदस्य निर्वाचन, मतदाता नामावली, सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण, सहकारी तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी संशोधनसहित ६ वटा विधेयक पारित गरी प्रमाणीकरणको प्रक्रिया पूरा गरिएको छ। त्यस्तै, विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकलगायत बजेटसँग सम्बन्धित महत्त्वपूर्ण कामसमेत सम्पन्न भएको अध्यक्ष दाहालले बताए।

अधिवेशनमा लैङ्गिक हिंसा रोकथाम तथा सहायक प्रजनन प्रविधिको नियमनसम्बन्धी सङ्कल्प प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। साथै, मनसुनजन्य विपद् व्यवस्थापन तथा रसुवाको भोटेकोशी बाढीपीडितको राहत र पुनर्स्थापनाका लागि विशेष प्रस्ताव पारित गरिएको छ। सभाले महिला समन्वय समिति र भोटेकोशी–कालीगण्डकी करिडोर विपद् अध्ययनसम्बन्धी संसदीय विशेष समिति पनि गठन गरेको छ।यसैगरी, राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदनमाथि छलफल गरी त्यसमा उल्लेखित सुझाव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिइएको छ। अधिवेशनमा १५ वटा मन्त्रालयसँग सम्बन्धित ३५ वटा मौखिक प्रश्नको उत्तर दिने कार्यक्रमसमेत सम्पन्न भयो। शून्य, विशेष तथा आकस्मिक समयमा सांसदहरूले उठाएका विषयमा सरकारको जवाफ दिन तथा ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न अध्यक्ष दाहालले रुलिङ गरेका थिए। रसुवाको भोटेकोशी बाढीपछिको अवस्थाबारे अन्तर्राष्ट्रिय मञ्चमा समेत आवाज उठाउँदै विपद् व्यवस्थापनका लागि राष्ट्रिय एकता र सहकार्यमा जोड दिइएको राष्ट्रियसभाले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार