काठमाडौँ । विद्युत् नियमन आयोगको कार्यक्रममा वितरण गरिएको ‘किम्ची फास्ट फुड’को खाजा प्याकेटमा मुसाको दिसाजस्तो अखाद्य वस्तु भेटिएपछि कारबाहीका लागि उजुरी गरिएको घटनामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारीमाथि मिलापत्र गराउन खोजेको आरोप लागेको छ। पत्रकारहरूले खाजा खाने क्रममा उसिनेको मकैभित्र मुसाको लिँडजस्तो वस्तु भेटिएपछि फोटो तथा भिडियोसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा जानकारी गराएका थिए। उजुरीपछि खाद्य विभागका प्राविधिक सहायक भरत रोकायाले रेस्टुरेन्ट सञ्चालकसँग भेटेर खाजाबापतको रकम क्षतिपूर्ति गराउने प्रस्ताव गरेको आरोप छ। तर उजुरीकर्ताले क्षतिपूर्ति नभई कानुनी कारबाही हुनुपर्ने अडान राखेका थिए। पछि विभागको टोलीले अनुगमन गरे पनि घटनास्थलमा तत्काल अखाद्य वस्तु नभेटिएको भन्दै कारबाही गर्न नसकिएको जनाएको थियो। विभागका उपमहानिर्देशक सोमकान्त रिजालले भने उजुरीकै आधारमा तत्काल कारबाही गर्न नमिल्ने र सम्बन्धित व्यवसायबाट आधिकारिक रूपमा नमुना संकलन गरी प्रयोगशाला परीक्षणपछि मात्रै कानुनी प्रक्रिया अघि बढ्ने स्पष्ट पारेका छन्। उनका अनुसार शुक्रबार किम्चीको खाजा बक्समा भेटिएको अखाद्य वस्तुको नमुना संकलन गरिएको छ। घटनाले उपभोक्ताको स्वास्थ्यसँग सम्बन्धित उजुरीमा नियामक निकायको प्रमाण संकलन, अनुगमन र कारबाही प्रक्रियाबारे प्रश्नसमेत उठाएको छ।