कांग्रेस महाधिवेशनमा शीर्ष नेताहरूको सहभागिता, ओली नजाने

कांग्रेस महाधिवेशनमा शीर्ष नेताहरूको सहभागिता, ओली नजाने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आज काठमाडौंको खुलामञ्चमा हुँदैछ । उद्घाटन समारोहमा सहभागिताका लागि कांग्रेसले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निम्तो दिएको छ । निम्तो पाएका अधिकांश दलका शीर्ष नेताहरू सहभागी हुने तयारीमा रहे पनि केही दलबाट भने शीर्ष नेताको सट्टा प्रतिनिधि सहभागी हुने भएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने स्वयं कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुने तयारीमा छन् । रास्वपाका प्रवक्ता जगदिश खरेलका अनुसार अहिलेसम्म सभापति लामिछाने नै कार्यक्रममा सहभागी हुने तय भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने कांग्रेस महाधिवेशनमा सहभागी नहुने भएका छन् । बुवाको निधनपछि बरखीमा रहेका कारण ओली सहभागी नहुने र उनको सट्टा एमाले महासचिव शंकर पोखरेल सहभागी हुने भएका छन् । पोखरेलले उद्घाटन समारोहमा शुभकामना मन्तव्यसमेत दिने एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।यसैगरी नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुने भएका छन् । पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार प्रचण्डले समारोहलाई सम्बोधन गर्नेछन् । प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार उनको दैनिक कार्यतालिकामै कांग्रेस महाधिवेशनमा सहभागी हुने कार्यक्रम राखिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन पनि उद्घाटन समारोहमा सहभागी हुने भएका छन् । गृहजिल्ला झापामा रहेका लिङ्देन आजै काठमाडौं आएर कांग्रेस महाधिवेशनमा सहभागी हुने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।यता जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भने कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा सहभागी नहुने भएका छन् । उनको सट्टा सहअध्यक्ष शरतसिंह भण्डारीलाई समारोहमा सहभागी हुन अध्यक्ष यादवले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार