आदिवासी जनजाति क्लस्टरबाट कांग्रेस केन्द्रीय सदस्यमा विजय सम्बाहाम्फेको उम्मेदवारी

आदिवासी जनजाति क्लस्टरबाट कांग्रेस केन्द्रीय सदस्यमा विजय सम्बाहाम्फेको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा त्यागी तथा बौद्धिक नेताका रूपमा परिचित विजय सम्बाहाम्फेले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। ‘नेपाली कांग्रेसको आस्था र प्रतिष्ठालाई युगसापेक्ष उचाइमा पुर्‍याऔँ, त्यागी तथा बौद्धिक नेता विजय सम्बाहाम्फेलाई जिताऔँ’ भन्ने नारासहित उनले आफ्नो उम्मेदवारी अघि सारेका छन्।नेपाली कांग्रेसमा लामो समयदेखि सक्रिय सम्बाहाम्फेले पार्टीका विभिन्न तह र जिम्मेवारीमा रहेर काम गरेका छन्। संगठन निर्माण, नीति तथा बौद्धिक बहस, शिक्षा तथा सामाजिक क्षेत्रमा उनको सक्रिय योगदान रहेको कांग्रेसका नेता तथा कार्यकर्ताहरू बताउँछन्। उनले तेह्रथुम जिल्ला कार्यसमितिको कोषाध्यक्षदेखि नेपाली कांग्रेसको सूचना तथा सञ्चार विभागको केन्द्रीय सदस्य तथा पेसागत तथा बुद्धिजीवी विभागको महासचिवसम्मको जिम्मेवारी सम्हालिसकेका छन्। हालै सम्पन्न निर्वाचनबाट उनी महासमिति सदस्यसमेत निर्वाचित भएका छन्।२०७४ सालको प्रदेशसभा निर्वाचनमा तेह्रथुम ‘ख’ बाट नेपाली कांग्रेसका उम्मेदवार बनेका सम्बाहाम्फे थोरै मतान्तरले पराजित भएका थिए। निर्वाचनमा पराजित भए पनि उनले पार्टी संगठन, नीति निर्माण तथा सामाजिक क्षेत्रमा आफ्नो सक्रियता निरन्तर कायम राखेका छन्। कांग्रेसका अग्रज नेतादेखि सभापति गगन थापासम्म विभिन्न तहका नेतासँग उनको सौहार्दपूर्ण सम्बन्ध रहेको कांग्रेसका नेताहरू बताउँछन्। यही कारण उनको उम्मेदवारीलाई पार्टीभित्र अनुभव, समन्वय क्षमता र बौद्धिकताको प्रतिनिधित्वका रूपमा हेरिएको छ।

व्यवसायीका रूपमा समेत परिचित सम्बाहाम्फेले शिक्षा, पर्यटन, कृषि, जलविद्युत्, बैंकिङ तथा वित्तीय क्षेत्रमा लगानी गरेका छन्। उनका विभिन्न व्यवसाय तथा लगानीमार्फत रोजगारी सिर्जना हुनुका साथै सयौँ परिवारलाई आत्मनिर्भर बन्न सहयोग पुगेको बताइएको छ। व्यवसायसँगै राजनीतिक तथा सामाजिक क्षेत्रमा पनि उनी निरन्तर सक्रिय रहँदै आएका छन्।शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्वका रूपमा समेत सम्बाहाम्फेको परिचय छ। निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सनको केन्द्रीय अध्यक्षका रूपमा जिम्मेवारी सम्हालिसकेका उनले शिक्षा क्षेत्रको सुधार र रूपान्तरणका लागि विभिन्न नीतिगत अवधारणा तथा योजनामा काम गरेका थिए। उनले विकसित मुलुकहरूको शिक्षा प्रणाली, नीति तथा अभ्यासको अध्ययनसमेत गरेका छन्। उनको अनुभव र क्षमताको मूल्याङ्कन गर्दै सरकारले उनलाई राष्ट्रिय उच्च शिक्षा आयोगको सदस्यको जिम्मेवारीसमेत दिएको थियो।नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य भागीमान गुरुङले सम्बाहाम्फेको उम्मेदवारी घोषणाले आदिवासी जनजाति समुदायमा उत्साह थपिएको बताए। उनका अनुसार सम्बाहाम्फेको लामो राजनीतिक अनुभव, बौद्धिक क्षमता र विभिन्न क्षेत्रमा हासिल गरेको उपलब्धिले नेपाली कांग्रेसमा आदिवासी जनजाति समुदायको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ। ‘विजय सरको उम्मेदवारी घोषणाले सिंगो आदिवासी समुदायमा उत्साह पैदा भएको छ। उहाँको भूमिका र अनुभवले नेपाली कांग्रेसलाई नयाँ उचाइमा पुर्‍याउन थप योगदान पुग्ने विश्वास लिएका छौँ,’ गुरुङले भने।

शिक्षा, राजनीति, व्यवसाय र सामाजिक क्षेत्रमा हासिल गरेको अनुभवलाई पार्टीको नीति निर्माण तथा संगठन सुदृढीकरणमा उपयोग गर्ने सम्बाहाम्फेको लक्ष्य रहेको बताइएको छ। पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै कांग्रेसलाई समयानुकूल, विचारप्रधान र जनमुखी पार्टीका रूपमा अघि बढाउन आफ्नो उम्मेदवारी रहेको उनले बताउँदै आएका छन्।उम्मेदवारीलाई सार्थक बनाउन सम्बाहाम्फेले मेचीदेखि महाकालीसम्मका कांग्रेस नेता तथा कार्यकर्तासँग भेटघाट र परामर्श गरिरहेका छन्। नयाँ पुस्ता, आदिवासी जनजाति, पेसागत तथा बौद्धिक समुदायलाई पार्टीको मूलधारमा थप प्रभावकारी रूपमा जोड्ने तथा कांग्रेसको आस्था, प्रतिष्ठा र लोकतान्त्रिक मूल्य–मान्यतालाई अझ बलियो बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। यही क्रममा असोज १८ गते सम्पर्क कार्यालय स्थापना गर्ने तयारी गरिएको उनको सचिवालयले जनाएको छ।कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा विभिन्न समूह, समुदाय र क्लस्टरबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा हुने क्रम तीव्र बनेको छ। यसैबीच आदिवासी जनजाति क्लस्टरबाट सम्बाहाम्फेको उम्मेदवारीलाई लामो राजनीतिक अनुभव, बौद्धिक क्षमता, सामाजिक योगदान र व्यावसायिक पृष्ठभूमिको संयोजनका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार