काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा जनसम्पर्क समिति मध्यपूर्वको तर्फबाट बिमल सुवेदीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। नेविसंघ कास्की क्षेत्र नं. १ को क्षेत्रीय सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका सुवेदीले नेविसंघ कास्कीको सचिव तथा पृथ्वीनारायण क्याम्पस स्ववियु प्रचार समिति संयोजकको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि नेपाली जनसम्पर्क समिति कतारको संस्थापक महामन्त्री हुँदै दुई कार्यकाल सभापतिको जिम्मेवारीसमेत सम्हालेका उनले कांग्रेसका १२औँ, १३औँ र १४औँ महाधिवेशनमा महासमिति सदस्यका रूपमा तथा केन्द्रीय प्रचार विभागमा रहेर काम गरेको बताएका छन्। प्रवासमा नेपाली जनसम्पर्क समितिको विस्तार, संगठन निर्माण र पार्टी गतिविधिमा सक्रिय रहँदै आएको अनुभवलाई कांग्रेसको केन्द्रीय जिम्मेवारीसँग जोड्ने उद्देश्यले १५औँ महाधिवेशनमा उम्मेदवारी घोषणा गरेको सुवेदीले बताएका छन्। ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारासहित उम्मेदवारी घोषणा गरेका सुवेदीले आफ्नो उम्मेदवारीमा साथ, समर्थन, सल्लाह, शुभेच्छा तथा मतका लागि महाधिवेशन प्रतिनिधि एवं कांग्रेसका नेता–कार्यकर्तासँग आग्रह गरेका छन्।