मुस्ताङ । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली शनिबार कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार चिनियाँ राजदूत कोरला नाकाबाट मुस्ताङ आएका हुन्। उनले भ्रमणसम्बन्धी विस्तृत जानकारी प्राप्त नभएको बताइन्। तीनदिने भ्रमणका लागि लोमान्थाङ पुगेका राजदूतसहितको टोलीमा पाँच जना चिनियाँ नागरिक रहेका छन्। टोली आइतबार लोमान्थाङबाट कोरला नाका हुँदै चीनतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ।
लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार कोरला नाकाको वस्तुस्थिति बुझ्न चिनियाँ राजदूत मुस्ताङ आएका हुन्। लामो समयदेखि बन्द रहेको तातोपानी नाकाको विकल्पका रूपमा प्रयोग हुँदै आएको केरुङ नाका भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएपछि कोरला नाका पुनः सञ्चालनको माग बढिरहेको छ। यही समयमा चिनियाँ राजदूतको मुस्ताङ भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
रसुवा र तातोपानी नाका बन्द भएपछि मुस्ताङ भन्सार कार्यालयले दैनिक करिब ३० करोड रुपैयाँ राजस्व सङ्कलन गर्दै आएको जनाइएको छ। कोरला नाका पुनः सञ्चालनमा आएमा नेपाल–चीन सीमावर्ती व्यापार तथा मुस्ताङको आर्थिक गतिविधिमा समेत प्रभाव पर्ने अपेक्षा गरिएको छ।