बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र, १० दिनभित्र यातायात सञ्चालन गर्ने लक्ष्य

बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र, १० दिनभित्र यातायात सञ्चालन गर्ने लक्ष्य

म्याग्दी । लगातारको वर्षापछि बाढीपहिरो र कालीगण्डकी नदीको कटानबाट क्षतिग्रस्त बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा मर्मत कार्य तीव्र पारिएको छ। रसुवा र तातोपानी नाका बन्द रहेका बेला चीनसँगको व्यापारका लागि महत्वपूर्ण बनेको कोरला नाका जोड्ने सडकलाई जतिसक्दो छिटो सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम अघि बढाएको हो।दुई सय दुई किलोमिटर लामो बेनी–जोमसोम–कोरला सडकमा बाढीपहिरोका कारण ५५ स्थानमा क्षति पुगेको थियो। पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारे तथा मुस्ताङको कोरला नाकादेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीसम्मका अधिकांश क्षतिग्रस्त खण्डको मर्मत भइसकेको जनाइएको छ।

म्याग्दीको राहुपारेदेखि पोखरेबगरसम्मको करिब १५ किलोमिटर सडक भने अझै मर्मत गर्न बाँकी छ। पोखरेबगर, रातोपानी, धिरच्याङ, महभीर, भीरकाटे, तिप्ल्याङ, बेगखोला, कुनौटा, सिरुवारी, बैसरी र राहुपारे क्षेत्रमा कालीगण्डकी नदीको कटानले सडक क्षतिग्रस्त भएपछि पैदलयात्रा गर्नसमेत कठिन भएको छ। यी क्षेत्रमा सडक खुलाउन आवश्यक उपकरण र मजदुर परिचालन गरी समानान्तर रूपमा मर्मतको काम अघि बढाइएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए।आयोजना प्रमुख शर्माका अनुसार सबै पक्षबीच आवश्यक समन्वय भएमा अबको एक हप्तादेखि १० दिनभित्र बेनी–जोमसोम–कोरला सडकमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्ने लक्ष्य राखिएको छ। रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा सडक मर्मतका लागि वैकल्पिक मार्ग खोल्ने क्रममा प्रयोगमा नरहेको ग्यान टी टावर हटाउन ढिलाइ हुँदा दुई दिन काम प्रभावित भए पनि शनिबारदेखि तिल्केनीचौर हुँदै चमेरे र राहुपारे क्षेत्रमा मर्मत सुरु गरिएको छ।

यसैबीच, सुरक्षाकर्मी र स्वयंसेवकले तिल्केनीचौरदेखि सिरुवारी हुँदै बेगखोलासम्म ग्यालिनमा डिजेल बोकेर पुर्‍याएपछि बैसरी र सिरुवारीमा रोकिएका एस्काभेटर सञ्चालनमा आएका छन्। मुस्ताङबाट ल्याइएको तथा जलविद्युत् आयोजनासँग मौज्दात रहेको इन्धन सापटी लिएर पोखरेबगरदेखि बेनीतर्फ पनि सडक मर्मतका लागि उपकरण परिचालन गरिएको छ।सडक सञ्चालनमा आएपछि मुस्ताङमा उत्पादन भएको स्याउ बजारसम्म पुर्‍याउन, दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्न तथा पर्यटकीय गतिविधि सहज बनाउन सहयोग पुग्नेछ। साथै, चीनसँगको व्यापारिक आवागमन सहज हुनुका साथै मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न पनि सडक पुनः सञ्चालन महत्वपूर्ण हुने देखिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार