काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा छिमेकी मुलुक भारत र चीनका प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूको भौतिक उपस्थिति देखिएन। यद्यपि, दुवै देशका राजनीतिक दलले महाधिवेशन सफलताको शुभकामना सन्देश पठाएका छन्।कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नबिन तथा भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले महाधिवेशनका लागि शुभकामना सन्देश पठाएका छन्। त्यसैगरी, चीनको सत्तारुढ दल चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले पनि महाधिवेशन सफलताको कामना गर्दै शुभकामना सन्देश पठाएको छ।
महाधिवेशनमा भारत, चीन, बङ्गलादेश तथा अन्य विभिन्न देशका राजनीतिक दल र अन्तर्राष्ट्रिय राजनीतिक संगठनहरूले पठाएका शुभकामना सन्देशहरू वाचन गरिएको थियो। शुभकामना पठाउनेमा भारतीय जनता पार्टी, भारतीय राष्ट्रिय कांग्रेस, चिनियाँ कम्युनिस्ट पार्टी, बङ्गलादेश रिपब्लिकन पार्टी तथा इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टीलगायत रहेका छन्।
महामन्त्री पौडेलले कांग्रेसले विभिन्न देशका राजनीतिक दल तथा विदेशी नेताहरूलाई महाधिवेशनमा सहभागी हुन निमन्त्रणा गरेको भए पनि महाधिवेशनको मिति परिवर्तन भएकाले उनीहरू प्रत्यक्ष रूपमा सहभागी हुन नसकेको बताए। यसअघि नेपाली कांग्रेसका महाधिवेशनमा छिमेकी मुलुक भारत र चीनका प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूको बाक्लो भौतिक उपस्थिति रहने गरेको थियो। तर, यसपटक भने विदेशी राजनीतिक दलहरूको सहभागिता शुभकामना सन्देशमा सीमित भएको छ।