नुवाकोट । विपद्का समयमा एउटा समुदायले अर्को समुदायलाई साथ दिनुपर्छ भन्ने मानवीय सन्देशसहित दक्षिण कोरियाबाट आएको स्वयंसेवी टोलीले भोटेकोशी बाढी प्रभावित नुवाकोटमा घर सरसफाइ तथा पुनरुत्थानको काम गरिरहेको छ । टाढाको देशबाट आएर प्रभावित बस्तीमा स्वयंसेवा गरिरहेको कोरियाली टोलीको काम स्थानीय समुदायका लागि प्रेरणाको स्रोत बनेको छ ।गत साता नेपाल आइपुगेको आठ सदस्यीय कोरियाली टोलीले नुवाकोटको विदुर नगरपालिका–१ ढुङ्गेस्थित बजार क्षेत्रमा १० दिनसम्म घर तथा आसपासको क्षेत्र सरसफाइ गर्ने अनुमति लिएर काम गरिरहेको छ । विदुर–१ का वडाध्यक्ष लेनिन रञ्जितले प्रदान गरेको अनुमतिपत्रको प्रतिलिपि सरसफाइ भइरहेको घरअगाडि टाँसेर टोलीले चर्को घामको समेत पर्वाह नगरी बाढीले पुरिएका घरबाट माटो हटाउने, ढुङ्गा फाल्ने तथा भाँचिएका बिम र काठहरू हटाउनेलगायतका काम गरिरहेको छ ।लि खाङ उको नेतृत्वमा रहेको टोलीमा लि चाइ जुङ्ग, नम हा जिन, सिन जेउङ हुन, किम हो योङ्ग, योन हु योङ, किम साङ्ग कि र लि योङ्ग चोयल सहभागी छन् । टोलीमा ८४ वर्षीय किम साङ्ग कि पनि छन् । बुढ्यौली उमेरमा समेत अर्काको मुलुकमा आएर विपद् प्रभावितका लागि श्रम गरिरहेको देख्दा स्थानीयवासीले आफूहरूलाई पनि प्रभावित क्षेत्रको पुनर्निर्माण तथा सरसफाइमा सक्रिय हुन प्रेरणा मिलेको बताएका छन् ।‘लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आइ नेपाल’ र ‘लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३५४ डि कोरिया’को संयुक्त आयोजनामा आएको ‘९११ सर्च एण्ड रेस्क्यु’ टोलीले बाढीबाट क्षतिग्रस्त घर तथा बस्ती सफा गरी पुनः बस्नयोग्य बनाउने कामलाई तीव्रता दिएको हो ।
टोली नेता लि खाङ उका अनुसार ‘एक समुदाय विपद्मा पर्दा अर्को समुदायले मानवीय सहयोग गर्नुपर्छ’ भन्ने भावनाका साथ टोली नेपाल आएको हो । विपद्का समयमा प्रभावित समुदायलाई प्रत्यक्ष सहयोग पुर्याउनुका साथै सामूहिक प्रयासबाट पुनरुत्थान सम्भव छ भन्ने सन्देश दिन आफूहरू नेपाल आएको उनले बताए ।उनले यसअघि नेपालमा गएको विनाशकारी भूकम्पका समयमा समेत आफ्नो टोली उद्धार तथा राहत कार्यमा सहभागी भएको स्मरण गरे । उनका अनुसार ‘९११ सर्च एण्ड रेस्क्यु टिम’ले हालसम्म विश्वका ५४ भन्दा बढी मुलुकमा पुगेर विभिन्न विपद्मा उद्धार तथा विपद् व्यवस्थापनसम्बन्धी काम गरिसकेको छ । नेपाल र कोरियाका लायन्सबीच कायम भएको भगिनी सम्बन्धका आधारमा संयुक्त उद्धार तथा सरसफाइ अभियान सञ्चालन गरिएको हो ।लायन्स डिष्ट्रिक्ट ३२५ आइ नेपालका क्याबिनेट सेक्रेटरी अनुजकुमार श्रेष्ठले दुई देशका लायन्सबीचको सम्बन्धलाई मानवीय सेवामा रूपान्तरण गर्न अभियानले महत्वपूर्ण भूमिका खेलेको बताए । विपद्का बेला एक देश वा समुदायलाई अर्को देश तथा समुदायले सहयोग गर्ने संस्कारले मानवीय सम्बन्ध र आपसी भाइचारालाई थप बलियो बनाउने उनको भनाइ छ ।
विपद् व्यवस्थापन केवल राज्य वा कुनै एक संस्थाको दायित्व नभई समुदाय, देश तथा अन्तर्राष्ट्रियस्तरमै साझा जिम्मेवारी भएको उदाहरणका रूपमा कोरियाली टोलीको सेवा कार्यलाई हेरिएको छ । बाढीले घरबार तथा जनजीवन प्रभावित भएका बेला टाढाको देशबाट आएर प्रभावित बस्तीको सरसफाइमा स्वयंसेवा गर्नुले विपद्का समयमा मानवीय एकता र सहकार्यको महत्वलाई उजागर गरेको छ ।दशदिने सेवा कार्यक्रमका लागि नेपाल आएको कोरियाली लायन्स सर्च एण्ड रेस्क्यु टोली आगामी अक्टोबर ७ मा स्वदेश फर्किने टोलीका भाषा अनुवादक अनुपजङ्ग बस्नेतले जानकारी दिए ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीबाट एक हजार ४५१ जनाको मृत्यु र पाँच हजार ७४५ जना बेपत्ता भएका छन् भने हजारौँ घर बगेका छन् । बाढीबाट भएको क्षतिको भग्नावशेष व्यवस्थापनका लागि विभिन्न निकायले नुवाकोटको देवीघाट, ढुङ्गे, त्रिशूलीलगायत क्षेत्रमा एक्स्काभेटर, ब्याकहो लोडर, टिप्पर तथा आवश्यक जनशक्ति परिचालन गरिरहेका छन् ।