काभ्रे । साँझ ढल्किँदै गर्दा काभ्रेपलाञ्चोकको ऐतिहासिक सहर पनौतीका पुराना गल्लीमा परम्परागत बाजाका धुन गुञ्जिन थाल्छन्। हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्मको चार महिना अर्थात् चतुर्मासमा यहाँका टोल–टोलमा धार्मिक तथा सांस्कृतिक रौनक देखिन्छ। साँझ परेपछि स्थानीयवासी भेला हुन्छन्, बाजागाजा बजाउँछन् र पुस्तौँदेखि चलिआएका भजनका धुनले पुराना बस्तीलाई जीवन्त बनाउँछन्।पनौतीसँगै जोडिएको धुलिखेल नगरपालिका–५ श्रीखण्डपुर पुग्दा भने अवस्था फरक देखिन्छ। त्यहाँका पुराना मन्दिरका पर्खाल उभिएकै छन्, गुठीका परम्परा पनि कायम छन्, तर ती मन्दिरमा गुञ्जिने कतिपय पुराना भजनका स्वर भने क्रमशः हराउँदै गएका छन्। यसले काभ्रेपलाञ्चोकका मौलिक भजन परम्पराको दुई फरक अवस्था देखाउँछ—कतै नयाँ पुस्ताको सहभागिताले परम्परा जोगिने आशा पलाएको छ भने कतै पुस्तान्तरणको अभावमा परम्परा नै लोप हुने अवस्थामा पुगेको छ।
पनौतीमा ‘ढल्चा हालेगु’ : पुस्तान्तरणको आशा पनौतीका बलाछेटोल, पमाडिटोल, कोलाछेंलगायतका पुराना टोलमा पुग्दा यहाँको सांस्कृतिक जीवन अझै पनि परम्परासँग जोडिएको देखिन्छ। चतुर्मासभर स्थानीयवासी १० देखि १५ जनाको समूहमा भेला भएर परम्परागत बाजागाजासहित भजन गाउने गर्छन्। स्थानीय नेवारी भाषामा यसलाई ‘ढल्चा हालेगु’ भनिन्छ।‘ढल्चा हालेगु’ धार्मिक अभ्यासमा मात्र सीमित छैन। यो समुदायलाई जोड्ने माध्यमसमेत बनेको छ। अग्रज पुस्ताले बाजा बजाउने र भजन गाउने क्रममा बालबालिका तथा युवाहरू पनि सहभागी हुने गरेका छन्। यसबाट नयाँ पुस्ताले भजनका शब्द, धुन, ताल, बाजा बजाउने तरिका तथा धार्मिक संस्कारबारे प्रत्यक्ष रूपमा सिक्ने अवसर पाउँछन्।पनौती नगरपालिका–७ का वडा सदस्य राम भुजुका अनुसार भजनमा नयाँ पुस्ताको सहभागिताले उनीहरूलाई अग्रजबाट स्थानीय संस्कृति र परम्पराबारे सिक्ने अवसर मिलेको छ। स्थानीय प्रमेश घुल्नु पनि यस्ता सांस्कृतिक गतिविधिले धार्मिक आस्थालाई निरन्तरता दिनुका साथै पनौतीको मौलिक पहिचान र सामुदायिक एकतालाई बलियो बनाउने बताउँछन्। उनका अनुसार नयाँ पुस्ताको सहभागिता बढाउन सके संस्कृति पुस्तौँसम्म जीवित रहन सक्छ।पनौतीमा देखिएको यो अभ्यासले मौलिक संस्कृति संरक्षणका लागि मन्दिर, गुठी र पुराना संरचना मात्र जोगाएर नपुग्ने देखाउँछ। परम्परालाई जीवन्त राख्न समुदायको निरन्तर सहभागिता र नयाँ पुस्ताको सक्रिय संलग्नता आवश्यक हुन्छ। अग्रज पुस्ताले जानेका भजन, बाजा र संस्कार युवापुस्ताले सिक्दै गएमा परम्पराले स्वाभाविक रूपमा निरन्तरता पाउने देखिन्छ। श्रीखण्डपुरमा हराउँदै गएको भजन परम्परापनौतीका केही टोलमा भजनका धुन गुञ्जिरहेका बेला नजिकैको श्रीखण्डपुरमा भने परिस्थिति फरक छ। श्रीखण्डपुरको पहिचानसँग जोडिएका ‘चतुर्मास भजन’ र ‘लालमोहर भजन’ अहिले लोप हुने सङ्घारमा पुगेका छन्।विशेषगरी ‘लालमोहर भजन’ श्रीखण्डपुरको ऐतिहासिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको परम्परा मानिन्छ। स्थानीयका अनुसार मल्लकाल वा प्रारम्भिक शाहकालमा दरबारले मन्दिरको पूजाआजा, सांस्कृतिक निरन्तरता तथा भजन मण्डली सञ्चालनका लागि जग्गा–जमिन वा विशेष अधिकार प्रदान गर्ने र त्यससम्बन्धी लालमोहर जारी गर्ने गरेको थियो। दरबारिया मान्यता तथा संरक्षण प्राप्त गरी गुठीमार्फत पुस्तौँदेखि सञ्चालन हुँदै आएको भजन भएकाले यसलाई ‘लालमोहर भजन’ भनिएको स्थानीयको भनाइ छ।ऐतिहासिक महत्व बोकेको यो भजन परम्परा अहिले गाउने व्यक्तिको अभावमा संकटमा परेको छ। श्री श्वेतभैरव भजन मण्डलका सल्लाहकार पूर्ण कर्माचार्यका अनुसार आफूले पनि विगतमा लालमोहर भजन गाउने गरेका थिए। तर अहिले भजन गाउने पुस्ता घट्दै जाँदा उक्त परम्परा अस्तित्वमै नरहेको अवस्था आएको छ। अहिले भजन मण्डल गठन गरी गुठी संस्थानको ब्याजबाट प्राप्त रकममार्फत पूजाआजा सञ्चालन गरिए पनि लालमोहर भजन गाउने व्यक्ति नहुँदा परम्परा हराएको उनको भनाइ छ।भौतिक संरचना बाँकी रहे पनि त्यससँग जोडिएको सांस्कृतिक अभ्यास कमजोर हुँदै गएको श्रीखण्डपुरको अवस्थाले देखाउँछ। मन्दिर र गुठी जोगिए पनि त्यसमा पुस्तौँदेखि चलिआएको भजन गाउने परम्परा हराउँदै जानु सांस्कृतिक संरक्षणको गम्भीर चुनौती बनेको छ।
पुस्तान्तरण नै मुख्य चुनौती श्रीखण्डपुरमा पुरानो पुस्तासँग भजन र संस्कृतिको ज्ञान रहे पनि नयाँ पुस्तामा त्यसको हस्तान्तरण कमजोर हुँदै गएको स्थानीय बताउँछन्। रोजगारी तथा अध्ययनका लागि युवाहरू बाहिरिने क्रम बढेको छ भने बालबालिका र युवाको दैनिकी पनि बदलिएको छ। प्रविधिको बढ्दो प्रयोग, बसाइँसराइ र बदलिँदो सामाजिक जीवनशैलीका कारण परम्परागत सामूहिक गतिविधिमा सहभागिता घट्दै गएको उनीहरूको अनुभव छ।श्रीखण्डपुरका स्थानीय भव सागर रञ्जितलाई आफ्नो संस्कृति भावी पुस्ताका लागि केवल इतिहासको कथा बन्ने हो कि भन्ने चिन्ता छ। पुरानो पुस्ताले संरक्षण गरेको संस्कृति नयाँ पुस्ताले सिक्न र अभ्यास गर्न नपाएमा केही वर्षपछि त्यसको मौलिक स्वरूप नै हराउन सक्ने उनको भनाइ छ।समयसँगै समाजको जीवनशैली परिवर्तन हुनु स्वाभाविक हो। प्रविधिको विकास र नयाँ पुस्ताको फरक रुचिलाई रोक्न सकिँदैन। तर परिवर्तनसँगै मौलिक संस्कृति र परम्परालाई कसरी निरन्तरता दिने भन्ने प्रश्न अहिले महत्वपूर्ण बनेको छ।भजन परम्परा केवल गीत वा धार्मिक अभ्यास मात्र होइन। यसमा स्थानीय इतिहास, भाषा, बाजागाजा, धार्मिक संस्कार, सामुदायिक सम्बन्ध र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको ज्ञान जोडिएको हुन्छ। कुनै भजन परम्परा हराउनु भनेको एउटा गीत हराउनु मात्र नभई त्यससँग जोडिएको सांस्कृतिक अभ्यास र सामुदायिक स्मृतिको एउटा हिस्सा हराउनु पनि हो।पनौतीको ‘ढल्चा हालेगु’ र श्रीखण्डपुरको ‘लालमोहर भजन’ले मौलिक संस्कृति संरक्षणका दुई फरक अवस्था देखाएका छन्। पनौतीमा नयाँ पुस्ताको सहभागिताले परम्परालाई निरन्तरता दिने आधार तयार गरेको छ भने श्रीखण्डपुरमा भजन गाउने पुस्ता घट्दै जाँदा परम्परा नै संकटमा परेको छ।स्थानीय तह, समुदाय, गुठी तथा सांस्कृतिक संस्थाले मौलिक भजनका शब्द, धुन, बाजा र इतिहासको अभिलेखीकरणसँगै नयाँ पुस्तालाई त्यसमा सहभागी गराउन सके यस्ता परम्परा संरक्षणमा सहयोग पुग्न सक्छ। विद्यालय तथा समुदायस्तरमा स्थानीय संस्कृतिबारे जानकारी गराउने, अग्रजबाट युवापुस्तालाई सीप हस्तान्तरण गराउने र नियमित सांस्कृतिक गतिविधिलाई निरन्तरता दिने प्रयासले पनि परम्परा जोगाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।मौलिक संस्कृति संरक्षणका लागि केवल विगत सम्झिएर पुग्दैन, त्यसलाई वर्तमान पुस्ताले अभ्यास गर्न र आगामी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ। मन्दिर, गुठी र पुराना संरचना जोगिए पनि तिनमा जोडिएका जीवित परम्परा हराए भने संस्कृतिको एउटा महत्वपूर्ण पक्ष गुम्न सक्छ। त्यसैले काभ्रेका मौलिक भजन परम्परा जोगाउने सबैभन्दा बलियो आधार पुस्तान्तरण नै हो।