• २०८३ असोज २० गते मङ्गलवार
  • Preeti To Unicode

हिउँ पन्छ्याएपछि खुल्यो थोरङला पास, पर्यटकलाई सहज

हिउँ पन्छ्याएपछि खुल्यो थोरङला पास, पर्यटकलाई सहज

मुस्ताङ। अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत मनाङ–मुस्ताङ जोड्ने थोरङला पास पदमार्ग हिउँ पन्छ्याएपछि पुनः सञ्चालनमा आएको छ। मुक्तिनाथ होटल एसोसिएसनको पहलमा २० जनाको टोलीले सोमबार थोरङला पास क्षेत्रमा जमेको बाक्लो हिउँ पन्छ्याएपछि पदमार्ग खुलेको हो। असोज ८ देखि ११ गतेसम्म भएको भारी हिमपातका कारण थोरङला पास पदमार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि पर्यटक आवागमनसमेत बन्द भएको थियो। मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङका अनुसार बाक्लो हिउँ पन्छ्याएर पदमार्गलाई पदयात्राका लागि सहज बनाइएको छ। लमजुङको बेँसीसहरदेखि मनाङ हुँदै विदेशी पर्यटकहरू थोरङला पास पार गरेर मुस्ताङको मुक्तिनाथ पुग्ने गर्छन्। अक्टोबरदेखि नोभेम्बरसम्मको समय थोरङला पासमा साहसिक पदयात्राका लागि उपयुक्त मानिन्छ। विश्वकै प्रसिद्ध पदमार्गका रूपमा स्थापित राउन्ड अन्नपूर्ण चक्रीय पदमार्गको थोरङला पास खण्ड विदेशी पर्यटकमाझ साहसिक पदयात्राका लागि लोकप्रिय छ। मनाङ–मुस्ताङ अन्नपूर्ण चक्रीय पदमार्गमा वर्षमा करिब पाँच महिना मात्रै पर्यटकीय पदयात्रा हुने गर्छ। हिउँ पन्छ्याइएसँगै मनाङबाट थोरङला पास हुँदै मुस्ताङ आउने पर्यटकलाई पदयात्रामा सहज हुने मुक्तिनाथ होटल एसोसिएसनले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार