डोटी । डोटीको जोरायल गाउँपालिका–१, गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। आज बिहान करिब ८ः४५ बजे गैरा बजारबाट मेलखर्कतर्फ जाँदै गरेको सु.प.प्र.०१००२ त ४९१० नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब १२० मिटर तल खसेर दुर्घटना भएको हो। ट्र्याक्टर डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २३ वर्षीय प्रकाशबहादुर थापा मगरले चलाएका थिए।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी घण्टेश्वरबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी, कैलाली पठाएको जनाएको छ।
दुर्घटनामा जोरायल गाउँपालिका–१ चपरचानीका ३३ वर्षीय अमर सिजाली मगर, ४६ वर्षीय डम्बर थापा, १८ वर्षीय भरत थापा मगर र १८ वर्षीय विवश थापा मगर घाइते भएका छन्। त्यस्तै, गोगनपानीका ५२ वर्षीय जितबहादुर बि.क., धानाकोटका ३२ वर्षीय रूपलाल बि.क. र ३२ वर्षीया अनिषा बि.क., सपुरसानीका ३५ वर्षीय हर्कबहादुर थापा मगर तथा भानाकोटकी ३ वर्षीया करिश्मा बि.क. पनि घाइते भएका छन्। करिश्मा अनिषा बि.क.की छोरी हुन्।दुर्घटनापछि प्रहरीले घटनास्थलको मुचुल्का तथा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। ट्र्याक्टर सडकबाट करिब १२० मिटर तल खसेको प्रारम्भिक विवरण प्रहरीले सार्वजनिक गरेको छ।