• २०८३ असोज २० गते मङ्गलवार
  • Preeti To Unicode

रुकुम पश्चिममा बाढीको वितण्डा, घर–पसलसहित पशुचौपाया बगायो

रुकुम पश्चिममा बाढीको वितण्डा, घर–पसलसहित पशुचौपाया बगायो

काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० मा भारी वर्षापछि अर्माखोलामा आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको छ। बाढीले एक घर, दुईवटा किराना पसल, एउटा गोठ र १० वटा पानी घट्ट बगाएको वडाध्यक्ष टिकाराम खड्काले जानकारी दिएका छन्।

राति करिब साढे ८ बजे परेको भारी वर्षापछि आएको बाढीले स्थानीय उज्वन खड्काको घर बगाएको हो। बाढीको जोखिम बढेको थाहा पाएपछि खड्काको परिवार घर छाडेर सुरक्षित स्थानमा गएकाले मानवीय क्षति हुनबाट जोगिएको छ। घर बगाउँदा एक तोला सुनका गरगहना, १० हजार रुपैयाँ नगद, भाँडावर्तन, अन्नपात, एउटा भैंसी र १० वटा भेडाबाख्रा बगेका छन्।बाढीले स्थानीय खड्कबहादुर खड्का र बमबहादुर विकका किराना पसलसमेत बगाएको छ। त्यस्तै, गंगाराम खड्काको गोठसहित तीनवटा भैंसी र पञ्चराम डाँगीका दुईवटा गोरु पनि बाढीले बगाएको वडाध्यक्ष खड्काले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी वेद पौडेलले रातिको भारी वर्षापछि ठाडोखोलामा आएको बाढीले क्षति पुर्‍याएको जानकारी प्राप्त भएको बताए। घटनास्थल टाढा रहेकाले बिहानै प्रहरी टोली घटनास्थलतर्फ पठाइएको र स्थलगत निरीक्षणपछि क्षतिको थप विवरण आउने उनले जानकारी दिए। प्रारम्भिक जानकारीअनुसार घटनामा मानवीय क्षति भने भएको छैन।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार