नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा गत साउन र भदौ गरी दुई महिनाको अवधिमा २७७ वटा सर्पदंशका घटना भएका छन्। प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासीका कार्यालय प्रमुख एवं जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाईंका अनुसार जिल्लामा सबैभन्दा धेरै सर्पदंशका घटना कावासोती नगरपालिकामा भएका छन्। कावासोतीमा मात्रै १७४ जनालाई सर्पले डसेको छ। त्यस्तै, विनयी त्रिवेणी गाउँपालिकामा ८३, देवचुली नगरपालिकामा १०, बौदिकाली गाउँपालिकामा ८ र बुलिङटार गाउँपालिकामा दुईवटा सर्पदंशका घटना भएका छन्। अत्यधिक गर्मी र बर्खायामका कारण साउन र भदौमा सर्पदंशका घटना तुलनात्मक रूपमा बढी हुने गरेको चापागाईंले बताए।
जिल्लाको मध्यविन्दु प्रादेशिक अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा सर्पदंशका बिरामीको उपचार हुँदै आएको छ। गम्भीर अवस्थाका तथा आईसीयू आवश्यक पर्ने बिरामीलाई चितवन पठाउने गरिएको छ भने अन्य बिरामीको उपचार जिल्लाकै स्वास्थ्य संस्थामा हुने गरेको छ। जिल्लामा गोमन, करेत, भाइपर र राजगोमनलगायत विषालु सर्प पाइने चापागाईंले बताए। यसैगरी, साउन र भदौमा जिल्लामा जनावरको टोकाइबाट दुई हजार ७७ जना घाइते भएका छन्। कुकुर, बिरालो, बाँदर र स्याललगायतका जनावरले टोकेर उनीहरू घाइते भएका हुन्। कावासोती नगरपालिकामा मात्रै एक हजार ५५१ जनालाई जनावरले टोकेको छ।
देवचुली नगरपालिकामा ३१२, विनयी त्रिवेणी गाउँपालिकामा १६४, गैँडाकोट नगरपालिकामा २९, बुलिङटार गाउँपालिकामा १२, बौदिकाली गाउँपालिकामा पाँच तथा मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकामा दुई–दुई जनालाई जनावरले टोकेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा बर्सेनि १० हजारभन्दा बढी सर्वसाधारण जनावरको टोकाइबाट घाइते हुने गरेका छन्। रेबिजविरुद्धको खोप पर्याप्त मात्रामा उपलब्ध रहेकाले जनावरको टोकाइबाट घाइते बिरामीको उपचारमा सहज भएको अस्पतालले जनाएको छ।