• २०८३ असोज २० गते मङ्गलवार
  • Preeti To Unicode

दीपक भट्टका दुई मुद्दाको सुनुवाइ स्थगित

दीपक भट्टका दुई मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ । व्यवसायी दीपक भट्टविरुद्धको सम्पत्ति शुद्धीकरण तथा बैंकिङ कसुरसम्बन्धी दुई छुट्टाछुट्टै मुद्दाको सर्वोच्च अदालतमा मंगलबारका लागि तोकिएको सुनुवाइ स्थगित भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको भए पनि भट्टका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित गरिएको हो।

सम्पत्ति शुद्धीकरण तथा विदेशी विनिमय (नियमित गर्ने) ऐनअन्तर्गतको कसुर र बैंकिङ कसुरसम्बन्धी मुद्दामा विशेष अदालत र उच्च अदालत पाटनले भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए। उक्त आदेशमा चित्त नबुझेपछि भट्ट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिम सर्वोच्च अदालत पुगेका हुन्। उक्त दफामा थुनछेक वा तोकिएको धरौटी, जमानत वा बैंक जमानतमा चित्त नबुझेमा एक तहसम्म पुनरावेदन सुन्ने अदालतमा निवेदन दिन सकिने व्यवस्था छ।

भट्टविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दामा ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो दाबी गरिएको छ। उक्त मुद्दामा उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषिराज भण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले असार ५ गते भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।त्यस्तै, सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बिगो कायम गरिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले असार ३ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।सम्पत्ति शुद्धीकरण विभागले २०८१ चैत १९ गते भट्टलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। सर्वोच्च अदालतमा मंगलबारको सुनुवाइ स्थगित भएपछि अब उनको थुनासम्बन्धी निवेदनमा अर्को पेसी तोकिनेछ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार