बुटवल । नेपाली कांग्रेसको देउवा पक्षले लुम्बिनी प्रदेशका जिल्लामा वडा अधिवेशनलाई अन्तिम चरणमा पुर्याएको छ। केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशनका लागि भोलिसम्म म्याद थप गरेपछि बाँकी रहेका वडामा अधिवेशन सम्पन्न गर्न तीव्रता दिइएको हो।
देउवा पक्षका लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरीका अनुसार प्रदेशका करिब ८५ प्रतिशत वडामा अधिवेशन सम्पन्न भइसकेको छ। केही पालिकाका सबै वडा अधिवेशन सम्पन्न भए पनि केही वडामा भने प्राविधिक तथा आन्तरिक कारणले अधिवेशन हुन बाँकी रहेको उनले बताए। बाँकी वडाको अधिवेशन पनि भोलिसम्म सम्पन्न गर्ने गरी काम भइरहेको गिरीको भनाइ छ।उनका अनुसार कुनै वडामा तोकिएको समयभित्र अधिवेशन सम्पन्न हुन नसके केन्द्रसँग समन्वय गरी एक–दुई दिनपछि भए पनि अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ। लुम्बिनी प्रदेशका अन्य जिल्लामा पनि वडा अधिवेशन अन्तिम चरणमा पुगेको देउवा पक्षले जनाएको छ।
दाङमा करिब ९० प्रतिशत वडाको अधिवेशन सम्पन्न भएको छ भने बाँकी वडाका लागि छलफल भइरहेको छ। त्यस्तै, अर्घाखाँचीमा करिब ७० प्रतिशत वडा अधिवेशन सम्पन्न भएको जिल्ला संयोजक बाबुराम पौडेलले जानकारी दिए। उनका अनुसार मालारानी गाउँपालिकाका सबै वडा अधिवेशन सम्पन्न भइसकेका छन् भने सन्धिखर्कमा करिब आधा वडामा अधिवेशन सम्पन्न भएको छ। जिल्लाका अन्य स्थानीय तहमा पनि अधिवेशनको प्रक्रिया अघि बढिरहेको छ।रुपन्देहीमा पनि वडा अधिवेशन अन्तिम चरणमा रहेको केन्द्रबाट खटिएका प्रतिनिधि डा. दामोदर भुसालले बताए। वडा अधिवेशन सम्पन्न भएपछि गाउँ तथा नगर अधिवेशन गर्ने तयारी भइरहेको उनले जानकारी दिए। देउवा पक्षले आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गर्दै आन्तरिक तयारी अघि बढाएको छ। सोहीअनुसार लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा जिल्ला संयोजक तोकेर संगठनात्मक गतिविधिलाई तीव्रता दिइएको छ।