• २०८३ असोज २० गते मङ्गलवार
  • Preeti To Unicode

ग्यास अभाव बढेपछि उद्योगबाट हुने खुद्रा बिक्री रोक्न विक्रेता महासंघको माग

ग्यास अभाव बढेपछि उद्योगबाट हुने खुद्रा बिक्री रोक्न विक्रेता महासंघको माग

काठमाडौं । नेपालमा खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएको र उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै ग्यास विक्रेता महासंघ नेपालले नेपाल आयल निगमको ध्यानाकर्षण गराएको छ। महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै ग्यास उद्योगबाट भइरहेको खुद्रा बिक्री तत्काल बन्द गरी डिलरमार्फत मात्र ग्यास बिक्री वितरण गर्ने व्यवस्था मिलाउन माग गरेको हो।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकताभन्दा बढी सिलिन्डर हुनु नै ग्यास अभावको मुख्य कारण रहेको बताएका छन्। बजारमा पर्याप्त सिलिन्डर हुँदाहुँदै विभिन्न ग्यास उद्योगहरूले रु. २ हजार ५ सयदेखि रु. २ हजार ७ सयसम्ममा नयाँ सिलिन्डर बिक्री गरिरहेको भन्दै महासंघले आपत्ति जनाएको छ। उद्योगहरूले नयाँ सिलिन्डर बिक्री गरिरहँदा पनि नेपाल आयल निगम र सरकार मौन बसेको भन्दै महासंघले उद्योगी, निगम र सरकारको कार्यशैलीप्रति समेत प्रश्न उठाएको छ।

महासंघले बजारमा रहेका अनावश्यक सिलिन्डरको धरौटी रकम फिर्ता गर्नुको सट्टा आगामी दिनमा उपभोक्तामाथि थप आर्थिक भार पर्ने गरी ५ किलो, १९ किलो, ५० किलो र ४५० किलोका नयाँ सिलिन्डर बिक्री गर्ने योजना ल्याइएको भन्दै त्यसप्रति पनि असन्तुष्टि जनाएको छ। यस्तो योजना उपभोक्ताको हितमा नरहेको महासंघको भनाइ छ।ग्यास वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन उद्योगबाट भइरहेको खुद्रा बिक्री तत्काल बन्द गरी डिलरमार्फत मात्र ग्यास बिक्री गर्ने व्यवस्था गर्न महासंघले निगमसँग आग्रह गरेको छ। साथै, ग्यास अभावको वास्तविक कारण पहिचान गरी सरोकारवालासँग आवश्यक परामर्श गरेर सहज आपूर्ति व्यवस्था मिलाउन तथा हाल सर्वसाधारणले प्रयोग गर्दै आएको १४.२ किलोको ग्यास सिलिन्डरको उचित व्यवस्थापन गर्न पनि महासंघले माग गरेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार