• २०८३ असोज २० गते मङ्गलवार
  • Preeti To Unicode

महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी : डिना

महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी : डिना

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले पार्टीभित्र महिलाको अर्थपूर्ण सहभागिता अझै सुनिश्चित हुन नसकेको बताएकी छन् । कांग्रेसको १५औँ महाधिवेशनमा महिलातर्फबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै उनले पार्टीको शुद्धीकरणसँगै महिला तथा सबै समावेशी समूहको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न आफूले उम्मेदवारी दिएको बताइन् । संविधानमा कांग्रेसले स्वीकार गरेको समावेशी सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्दै संगठनभित्र समेत प्रत्याभूत गर्नुपर्नेमा उनले जोड दिइन् । महिलाको अधिकार संरक्षणका लागि संविधानसभामा बसेर संविधान लेखिए पनि पार्टीभित्र महिलाको अर्थपूर्ण सहभागिता हुन नसक्दा कार्यान्वयन पक्ष कमजोर भएको उनको भनाइ छ । सबै समूह र विचारलाई समेट्ने कांग्रेस निर्माण आफ्नो मुख्य प्रतिबद्धता रहेको उनले स्पष्ट पारिन् ।

उपाध्यायका अनुसार देशभरबाट केन्द्रीय समितिमा काम गर्न इच्छुक नेता–कार्यकर्ताको संख्या बढेकाले कांग्रेसले पदाधिकारी तथा केन्द्रीय सदस्यको संख्या बढाएको हो । पार्टीभित्र केन्द्रीय समितिको संख्या ठूलो भएको भन्दै आलोचना भइरहे पनि अन्य राजनीतिक दलको तुलनामा कांग्रेसको संख्या अझै कम रहेको उनको दाबी छ । ठूलो आकारको केन्द्रीय समितिले प्रभावकारी रूपमा काम गरेर पार्टी निर्माणमा परिणाम दिन सके अहिले भइरहेको विरोध आफैँ अन्त्य हुने उनले बताइन् ।

१४औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएर जिम्मेवारी सम्हालिसकेकाले यसपटक महामन्त्री पदमा आफ्नो दाबी स्वाभाविक रहेको उपाध्यायको भनाइ छ । पार्टीलाई थप समावेशी, प्रभावकारी र सबै विचारलाई समेट्ने संगठनका रूपमा विकास गर्न आफूले महामन्त्री पदमा उम्मेदवारी दिएको उनले बताइन् ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार