काठमाडौँ। नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार नवराज त्रिपाठीले अनौठो शैलीमा मत मागिरहेका छन्। इन्जिनियरसमेत रहेका त्रिपाठीले प्रचारका लागि रोबोटको प्रयोग गरेका छन्। उनी रोबोटसँगै राष्ट्रिय सभागृह परिसरमा हिँड्दै महाधिवेशन प्रतिनिधिहरूसँग भेटघाट गरी मत मागिरहेका छन्। अघिअघि हिँड्ने रोबोटले त्रिपाठीका लागि प्रतिनिधिसँग मत माग्ने गर्छ। मत मागिसकेपछि रोबोटले अन्तिममा ‘जय नेपाल!’ भन्ने गर्छ। प्रविधिको प्रयोग गर्दै मत माग्ने त्रिपाठीको यो शैली महाधिवेशन परिसरमा आकर्षणको विषय बनेको छ।