काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनमा उपसभापति पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन्। उनले पार्टी सभापति गगनकुमार थापाको विशेष आग्रहलाई सम्मान गर्दै आफ्नो मनोनयन फिर्ता लिएको बताएका हुन्।
चालिसेले उपसभापति पदमा रहेर पार्टीका लागि काम गर्ने उद्देश्यका साथ उम्मेदवारी दिएको उल्लेख गर्दै उम्मेदवारी दिने क्रममा देशभरका पार्टीका साथीहरूबाट प्राप्त माया, विश्वास, समर्थन र हौसलाप्रति आभार व्यक्त गरेका छन्। उनले आफ्नो उम्मेदवारी फिर्ता गर्ने निर्णय पार्टीको एकता, संस्थागत मर्यादा र सामूहिक हितलाई ध्यानमा राखेर गरिएको स्पष्ट पारेका छन्। उनले आफ्नो निर्णय चुनाव लक्षित वा कुनै व्यक्तिलाई लक्षित गरेर नभएको भन्दै पार्टीका साथीहरूलाई स्वतन्त्र रूपमा निर्णय लिन आग्रह गरेका छन्। पार्टी प्रणालीमा सभापतिको राजनीतिक निर्णयको सम्मान गर्नु आफ्नो कर्तव्य भएको उनले बताएका छन्।
चालिसेले पार्टीका लागि केही गर्ने उद्देश्यले भूमिका खोजिएको बताउँदै कुनै पनि भूमिका अन्तिम नहुने धारणा राखेका छन्। आफूले भूमिका रोज्नुभन्दा पार्टीले आवश्यकताअनुसार जिम्मेवारी दिने प्रणालीले नै पार्टी प्रणालीलाई बलियो बनाउने उनको भनाइ छ। पार्टीका जिम्मेवारीहरू प्रतिष्ठाभन्दा परिणाममा केन्द्रित हुनुपर्ने भन्दै उनले सामूहिक शक्ति र एकताबद्ध प्रयासबाट मात्रै नेपाली कांग्रेसलाई थप सुदृढ बनाउन सकिने बताएका छन्।