बारा । निजगढ नगरपालिका–१२ रामथलीमा घरायसी विवादका क्रममा श्रीमान्ले कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको छ। ५५ वर्षीय विजय मोक्तानले ४७ वर्षीया श्रीमती सुकुमाया मोक्तानलाई हिजो बेलुका कुटपिट गरेका थिए। कुटपिटबाट सामान्य घाइते भएकी सुकुमायाको स्थानीय मेडिकलबाट चिकित्सकलाई घरमै बोलाएर जाँच तथा औषधि उपचार गरिएको थियो। तर आज बिहान करिब ४ बजे उठाउन खोज्दा उनी नउठेपछि मृत्यु भएको जानकारी बिहान ६ः४० बजे अस्थायी प्रहरी पोष्ट रतनपुरमा गराइएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले कानुनी प्रक्रिया पूरा गरी सुकुमायाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बारा पठाएको छ। घटनामा संलग्न विजय मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।