नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा दिउँसो १ बजेदेखि मतदान

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा दिउँसो १ बजेदेखि मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार हुने मतदानको समय सारिएको छ। बिहान १० बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहे पनि निर्वाचनको तयारीका लागि समय दिउँसो १ बजेसम्म सारिएको हो।

मतदानअघि निर्वाचन समितिले सभापति, उपसभापति र महामन्त्रीका उम्मेदवारहरूसँग छलफल गरिरहेको छ। महिला महामन्त्रीकी उम्मेदवार डिला संग्रौलाका अनुसार राष्ट्रिय सभा गृहमा दिउँसो १२ बजेदेखि उम्मेदवारहरूसँग छलफल जारी छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार छलफलमा मतदान तथा मतगणनाको प्रक्रिया, सदर र बदर मतको मापदण्डलगायत विषयमा उम्मेदवारहरूलाई जानकारी गराइँदैछ।

महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्। सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार