काठमाडौँ । मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये ८५ दशमलव ४ प्रतिशतमा इन्टरनेट सुविधा पुगेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार २९ दशमलव ६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि (आइटी तथा आइसिटी) प्रयोगशाला विस्तार भएको छ । विसं २०७७ देखि सञ्चालित ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत चार हजार छ सय आठ विद्यालयमा आइसिटी ल्याब निर्माण गरिएको मन्त्रालयले जनाएको छ । यस्तै, विद्यालयमध्ये ६९ दशमलव ६ प्रतिशतमा वैकल्पिक स्रोतबाट विद्युत् पहुँच पुगेको छ । मुलुकभर धार्मिक प्रकृतिका विद्यालयसमेत गरी ३५ हजार नौ सय ५१ विद्यालय सञ्चालनमा रहेकामा २७ हजार १० सामुदायिक विद्यालय छन् । विद्यालय पूर्वाधारतर्फ २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत सात हजार छ सय ६७ विद्यालयको निर्माण सम्पन्न भएको छ भने थप १४ विद्यालय निर्माणाधीन छन् । पश्चिम नेपालमा भूकम्पबाट क्षतिग्रस्त दुई सय १६ विद्यालय सरकार तथा विभिन्न विकास साझेदारको सहयोगमा पुनर्निर्माण भइरहेका छन् । त्यस्तै, दुई हजारभन्दा बढी विद्यार्थी भएका ३६ विद्यालयमा थप पूर्वाधार विकासअन्तर्गत १२ कोठे भवन निर्माण भइरहेका मन्त्रालयले जनाएको छ ।