• २०८३ असोज २३ गते शुक्रवार
  • Preeti To Unicode

भोटेकोशी बाढीको ४५ दिनपछि पनि पीडितको मनमा त्रास, बस्ती पुनर्निर्माणको प्रतीक्षा

भोटेकोशी बाढीको ४५ दिनपछि पनि पीडितको मनमा त्रास, बस्ती पुनर्निर्माणको प्रतीक्षा

रसुवा । रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको ४५ दिन बितिसक्दा पनि स्याफ्रुबेँसीका स्थानीय बासिन्दाको मनबाट त्यो कहालीलाग्दो घटना हट्न सकेको छैन। आँखैअगाडि बस्ती बगाएको दृश्य, आफन्तको चिच्याहट र बाढीको गड्याङगुडुङ आवाजले उनीहरूलाई अझै झस्काइरहेको छ। बाढीले क्षणभरमै सुन्दर बस्तीलाई उजाड बगरमा परिणत गरेपछि बाँचेका मानिसहरू आफन्त गुमाउनुको पीडा, भविष्यको अनिश्चितता र पुनः विपत्ति आउन सक्ने डरबीच जीवन बिताइरहेका छन्। स्याफ्रुबेँसीका कान्छा तामाङका लागि भदौ १० गतेको बाढी अझै पनि दुःस्वप्नजस्तै छ। बाढीको असामान्य आवाज सुनेपछि उनी ज्यान जोगाउन केही अग्लो स्थानमा पुगेका थिए। सुरक्षित स्थानमा पुगेपछि आँखैअगाडि मानिसहरू बगिरहेको र स्याफ्रुबेँसी बजारलाई बाढीले बढारेको दृश्य उनले देख्नुपरेको थियो। “गड्याङगुडुङ गरेर ठूलो आवाज आयो। के रहेछ भनेर हेर्दा त ठूलो बाढी रहेछ,” कान्छा सम्झन्छन्, “बेतोडले भागेर अलि माथि पुगेँ। तल हेर्दा मानिस बगिरहेका थिए। कोही चिच्याइरहेका थिए। हेर्दाहेर्दै स्याफ्रुबेँसी बजारलाई बाढीले बढार्‍यो।” आफू सुरक्षित स्थानमा पुगे पनि अरूलाई बचाउन नसकेको पीडाले कान्छालाई अझै सताइरहेको छ। उनका अनुसार बाढीको भेल यति शक्तिशाली थियो कि त्यसमा पसेर कसैलाई जोगाउन सम्भव थिएन। “सयौँ मानिस बगेको हेर्नुपर्‍यो। त्यस्तो भेलमा पसेर उनीहरूलाई जोगाउन सकिने अवस्था थिएन,” उनी भन्छन्। बाल्यकालदेखि सँगै खेलेका साथी, परिचित अनुहार र आफूले चिनेको बस्ती गुमाउनुपर्दाको पीडा उनका लागि असह्य बनेको छ। बाढीले भौतिक संरचना मात्र नभई उनका जीवनका अनगिन्ती सम्झनासमेत बगाएर लगेको छ। बाढीको त्रास कान्छाको परिवारमा पनि उत्तिकै छ। उनकी श्रीमती ल्हात्सेन डोल्पालाई आकाशमा मेघ गर्जंदासमेत डर लाग्छ। बाढीले मनमा गहिरो छाप छाडेकाले त्यो घटना सजिलै बिर्सन नसकिने उनी बताउँछिन्। कान्छालाई पनि फेरि त्यस्तै विपत्ति दोहोरिने चिन्ताले सताइरहेको छ। रातभर राम्रोसँग निदाउन नसक्ने र बाढीको सम्झनाले पटकपटक झस्किने समस्या उनीहरूले भोगिरहेका छन्।

स्याफ्रुबेँसीकै अर्का स्थानीय सन्दु ज्ञावाले बाढीमा आफ्ना छ जना आफन्त गुमाएका छन्। उनको घर भने बाढीबाट जोगिएको थियो। तर, घर सुरक्षित रहेको खुसीभन्दा आफन्त गुमाएको पीडा ठूलो छ। घरको आँगनबाट तल हेर्दा देखिने उजाड बगरले उनलाई हरेक दिन विगतको सम्झना गराउँछ। “बस्ती त फेरि बनाउन सकिन्छ होला। घर पनि फेरि बनाउन सकिन्छ तर गुमाएका मान्छे कसरी फर्काउने ?” उनी प्रश्न गर्छन्। बाढीले भत्काएका घर, सडक र अन्य संरचना पुनर्निर्माण गर्न सकिए पनि गुमाएका आफन्त कहिल्यै फर्काउन नसकिने वास्तविकताले उनलाई निरन्तर पीडा दिइरहेको छ। सन्दुका अनुसार बाढी आउँदै गरेको पूर्वसूचना स्थानीयले पाएका थिएनन्। नदीको आवाज असामान्य भएपछि हेर्न जाँदा ठूलो बाढी आइसकेको थियो। उनले अरूलाई सचेत गराउन आवाज दिए पनि बाढीको गर्जनका कारण कसैले सुन्न सकेनन्। त्यसपछि आँखैअगाडि बस्ती र मानिसहरू बगिरहेको दृश्य हेर्नुपरेको थियो। अहिले पनि उनलाई त्यो घटना सपना भइदिए हुन्थ्यो जस्तो लाग्छ। घर बचेको र आफू जीवित रहेको खुसीसँगै फेरि ठूलो बाढी आए बाँकी रहेको घरसमेत बगाउने हो कि भन्ने डरले उनलाई सताइरहेको छ। बाढी गएको ४५ दिन बितिसक्दा पनि प्रभावित क्षेत्रका बासिन्दाको दैनिक जीवन सहज हुन सकेको छैन। घरबार र आफन्त गुमाएका परिवारका लागि जीवनयापन झनै कठिन बनेको छ। बजार तथा आवश्यक सामग्री पाइने स्थान टाढा हुँदा दैनिक उपभोग्य वस्तु खरिद गर्नसमेत समस्या भइरहेको स्थानीय बताउँछन्। सन्दुका अनुसार महँगी अत्यधिक छ र प्रभावित क्षेत्रमा बसोबास गरे पनि राहत पाउने परिवारमा नपरेकाहरूलाई दैनिक गुजारा चलाउन कठिन भइरहेको छ। नजिकै आवश्यक सामग्री नपाइने र टाढाबाट ल्याउँदा महँगो पर्ने भएकाले बाँचेकाहरूलाई समेत जीवन धान्न चुनौती थपिएको छ। यद्यपि, विपत्तिले दिएको पीडा र अभावबीच स्थानीयमा पुनः सामान्य जीवनमा फर्किने आशा भने बाँकी छ। सडक र पुल पुनर्निर्माण हुने, बस्ती फेरि बस्ने र उजाडिएको ठाउँमा पुरानै सौन्दर्य फर्किने विश्वास उनीहरूले गरेका छन्। तर, पुनर्निर्माणका लागि कति समय लाग्ने हो भन्ने अनिश्चितताले उनीहरूलाई चिन्तित बनाएको छ। गुमाएका आफन्तको सम्झना, विपत्तिले छाडेको त्रास र भविष्यप्रतिको आशाबीच उनीहरू जीवनलाई फेरि लयमा फर्काउने प्रयासमा छन्। बाढीपछि प्रभावित क्षेत्रका बासिन्दाले आवतजावतमा समेत कठिनाइ भोगिरहेका छन्। केही सामान खरिद गर्न र उपचारका लागि जानुपर्दा घण्टौँ कुरेर तुइनबाट खोला तर्नुपर्ने अवस्था रहेको कान्छा तामाङ बताउँछन्। तुइनबाट नदी पार गर्दा फेरि ठूलो बाढी आए आफूहरू पनि बगिने हो कि भन्ने डर लाग्ने गरेको उनको भनाइ छ। तर, अन्य वैकल्पिक मार्ग नहुँदा जोखिम मोलेरै तुइन प्रयोग गर्नुपर्ने बाध्यता छ। स्थानीय पूर्वाधार विकास विभागका उपमहानिर्देशक एवं प्रवक्ता कमलकुमार अधिकारीका अनुसार बाढी प्रभावित क्षेत्रमा वैकल्पिक आवतजावतका लागि चार वटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ। ती तुइन निर्माण तथा मर्मतमा करिब २० लाख रुपैयाँ खर्च भएको छ। नुवाकोटको इन्द्रेणीचौर–गुम्बाडाँडा जोड्ने त्रिशूली नदीको तुइनलाई मोटराइज्ड गरिएको छ। त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ र ६ स्थित स्याफ्रुबेँसी–चिलिमे जलविद्युत् आयोजना क्षेत्रको तुइनलाई पनि मोटराइज्ड गर्ने काम भएको छ। रसुवाको हाकुबेँसी–आमाछोदिङ्मो गाउँपालिका–१ जोड्ने तुइन तथा नुवाकोटको विदुर नगरपालिका–५ देविघाट क्षेत्रका तुइन पनि सञ्चालनमा रहेका छन्।

विभागका अनुसार थप तीन स्थानमा तुइन जडानको तयारी भइरहेको छ। रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेँसी र नुवाकोटको किस्पाङ गाउँपालिका–५ जोड्ने स्थानमा निर्माण कार्य सुरु भएको छ। स्याफ्रुबेँसी–लाङटाङ क्षेत्रमा भने खानी क्षेत्र भएकाले नेपाली सेनाले आवागमन निषेध गरेपछि तुइन जडानको स्थान परिवर्तन गर्नुपर्ने भएको छ। रसुवाको रुङ्गा क्षेत्रमा पनि तुइन जडानको तयारी भइरहेको विभागले जनाएको छ। यसैबीच, भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको मर्मत सम्पन्न भएको छ भने थप नौ वटा पुलको मर्मत अन्तिम चरणमा पुगेको छ। स्थानीय पूर्वाधार विकास विभागका अनुसार मर्मत सम्पन्न पुलमा नुवाकोटका पिमलटार–जागाराम, फोक्सेटार र जिलिङ तथा धादिङका मालिङ्गा–मझुवाटार दोभान, महादेवस्थान, केउरेनी–गहते, बेल्खु–भुतिया, कालिकास्थान, महेशदोभान–मास्टार, चिरौँदी खोला र शीतलबजार–क्युरेनीटार झोलुङ्गे पुल रहेका छन्। गोरखा–चितवन जोड्ने फिस्लिङ झोलुङ्गे पुलको मर्मत पनि सम्पन्न भएको छ। यी १२ वटा पुलको मर्मतमा करिब तीन करोड रुपैयाँ खर्च भएको विभागले जनाएको छ। त्यस्तै, गोरखा–धादिङको बादरे, धुवादीघाट, जिन्टे–स्यालटार, धादिङ–नुवाकोट जोड्ने कोल्पु–कल्लेरीघाट, गोरखा–धादिङको जोगीमारा र कौडीखोला, गोरखा–चितवनको कुरिनटार (लेबाटार), धादिङको बिहानी पम्प र मलेखु झोलुङ्गे पुलको मर्मत अन्तिम चरणमा पुगेको छ। बाढीबाट क्षतिग्रस्त पुलहरूको पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने कामसमेत सुरु भएको छ। पुनर्निर्माणका लागि आवश्यक लट्ठा खरिद प्रक्रिया अघि बढाइएको र थप लट्ठा खरिदका लागि मन्त्रालयसँग सहमति माग गरिएको विभागले जनाएको छ। भोटेकोशीको बाढीले स्याफ्रुबेँसीका बासिन्दाबाट जीवन, आफन्त, घरबस्ती र पुराना सम्झना खोसेको छ। बाढीको भेल नदीमा बगेर गए पनि त्यसले स्थानीयको मनमा छाडेको त्रास अझै हटेको छैन। भौतिक संरचना पुनर्निर्माणको काम अघि बढ्दै गर्दा प्रभावित परिवारलाई मानसिक पीडाबाट बाहिर निस्कन, दैनिक जीवन सहज बनाउन र सुरक्षित आवागमनको व्यवस्था गर्न पनि उत्तिकै आवश्यक देखिएको छ। उजाड बगरमा फेरि बस्ती बस्ने आशा बोकेका स्थानीयका लागि अबको चुनौती गुमेको जीवन फर्काउनु नभई बाँकी जीवनलाई सुरक्षित र सहज बनाउनु हो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार