जनकपुरधाम । सामाजिक सञ्जाल टिकटकमा नक्कली आईडी बनाएर गाउँकै व्यक्तिहरूको फोटो तथा भिडियो अश्लील गीतमा जोडेर प्रसारण गरेको आरोपमा सिरहामा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा औरही गाउँपालिका–३ पिपरा टोलका २३ वर्षीय सञ्जयकुमार यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार यादवले परिवारका सदस्य तथा अन्य व्यक्तिहरूको फोटो प्रयोग गरी फेक टिकटक आईडी बनाएका थिए। उक्त आईडीमार्फत फोटो तथा भिडियोमा अश्लील गीत जोडेर सामाजिक सञ्जालमा प्रसारण गरी चरित्रहत्या गर्नुका साथै व्यक्तिगत गोपनीयतामा आघात पुर्याएको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएका थिए।
जाहेरीका आधारमा अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले कात्तिक ११ गते बिहान यादवलाई पक्राउ गरेको हो। प्रहरी प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालका अनुसार प्रारम्भिक सोधपुछका क्रममा यादवले आफ्नै मोबाइलबाट नक्कली टिकटक आईडी बनाई फोटो तथा भिडियोहरू अश्लील गीतमा जोडेर प्रसारण गरेको स्वीकार गरेका छन्।
यादवलाई साइबर अपराधसम्बन्धी कसुरमा नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।