• २०८३ बैशाख ४ गते शुक्रवार
  • Preeti To Unicode

भारत–पाकिस्तान युद्धको तनाव : अग्रमोर्चामा नेपाली लाहुरे, घरमा परिवार चिन्तामा


काठमाडौं— भारत–पाकिस्तानबीच जम्मु–कश्मीर क्षेत्रमा बढ्दो सैन्य तनावले भारतीय सेनामा कार्यरत नेपाली लाहुरेहरू र उनीहरूको परिवारमा गहिरो त्रास फैलिएको छ। अप्रिल २२ मा जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले ‘अपरेशन सिन्दूर’ सुरु गरेको छ, जसअन्तर्गत पाकिस्तानविरुद्ध मिसाइल आक्रमण पनि भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

युद्धको यो जोखिमपूर्ण घडीमा हजारौं नेपाली लाहुरेहरू जम्मु–कश्मीर क्षेत्रमा तैनाथ छन्। उनीहरू अग्रपंक्तिमा रहेर युद्धको सम्भावित स्थितिमा उच्च सतर्कताका साथ कर्तव्यमा खटिरहेका छन्। यता, नेपालमा उनीहरूको परिवार घरमा दियो बालेर र पूजा गर्दै आफ्ना छोराहरूको सुरक्षाका लागि कामना गरिरहेका छन्।

पूर्व गोर्खा सैनिक डिल्लीजंग गुरुङले सन् १९९९ को कारगिल युद्ध सम्झँदै अहिलेको परिस्थितिले झनै त्रास पैदा गराएको बताए। “हामीले पनि त्यही मोर्चामा लडेका थियौं, अहिलेका लाहुरेहरू झन जोखिममा छन्,” गुरुङले भने।

भारतमा करिब ४८ हजार गोर्खा सैनिक कार्यरत छन्, जसमध्ये झन्डै १५ हजार नेपाली मूलका हुन सक्ने अनुमान छ। भारतीय सेनामा ७ वटा गोर्खा रेजिमेन्ट र ४ वटा गोर्खा ट्रेनिङ सेन्टर सञ्चालनमा छन्।

तर, सन् २०२२ जुनदेखि भारतमा लागू गरिएको ‘अग्निपथ योजना’ का कारण नयाँ नेपाली भर्ती प्रक्रिया बन्द भएको छ। यसले नेपालको ग्रामीण क्षेत्रको रोजगारी, अर्थतन्त्र, र सामाजिक संरचनामा गम्भीर असर पारिरहेको छ।

एकातिर युद्धको जोखिम, अर्कातिर लाहुरे संस्कृतिमा समेत परिवर्तन देखिँदै गएको छ। पहिले चिठी र हलकारा मार्फत हुने भावनात्मक सम्पर्क अहिले डिजिटल माध्यमले प्रतिस्थापन गरेको छ। आधुनिक प्रविधिले सञ्चार सहज बनाएको भए पनि, त्यो पुरानो आत्मीयता हराउँदै गएको परिवारजनको गुनासो छ।

कश्मीर विवाद भारत–पाकिस्तानबीचको ऐतिहासिक द्वन्द्वको जड हो। सन् १९४७ यता तीनपटक युद्ध भइसकेका छन्, जसमा नेपाली लाहुरेहरू पनि समावेश भएका थिए।

नेपालको तर्फबाट खुला सिमानाका कारण भारतमा कति नेपाली छन् भन्ने यकिन तथ्यांक छैन। तर, वर्तमान तनावले नेपाली समाज, अर्थतन्त्र, रोजगारी र सुरक्षा क्षेत्रमा प्रत्यक्ष असर पार्न सक्ने सरकारको चासो बढ्दो छ।

प्रकाशित मिति : २०८२ बैशाख ३० गते मङ्गलवार