• २०८३ बैशाख ४ गते शुक्रवार
  • Preeti To Unicode

बबई सिँचाइ आयोजनाले माग्यो निर्माण कम्पनीसँग ५ करोड ३३ लाख

बबई सिँचाइ आयोजनाले माग्यो निर्माण कम्पनीसँग ५ करोड ३३ लाख

बबई सिँचाइ आयोजनाले ठेक्का सम्झौता अनुसार काम पूरा नगरेको आरोपमा अमन कन्स्ट्रक्सन कम्पनीलाई ५ करोड ३३ लाख रुपैयाँभन्दा बढी सरकारी खातामा बुझाउन ३५ दिनको अल्टिमेटम दिएको छ।

आयोजनाले गुलरिया, बर्दियास्थित उक्त निर्माण कम्पनीलाई वैशाख ४ गते सूचना जारी गर्दै कुल ५ करोड ३३ लाख ४२ हजार ९६ रुपैयाँ ७ पैसा सरकारी बाँकी सरह तिर्न निर्देशन दिएको हो। यसअघि चैत २ गते २१ दिनको समय दिइए पनि कम्पनीले रकम दाखिला नगरेपछि पुनः अन्तिम ३५ दिनको समय दिइएको हो।

निर्धारित अवधिभित्र रकम तोकिएको बैंक खातामा जम्मा गरी भौचर पेस नगरे कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ। आवश्यक परे आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अनुसार कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमार्फत सरकारी बाँकी सरह असुली गरिने आयोजनाले जनाएको छ।

आर्थिक वर्ष २०७७/७८ मा चार वटा ठेक्का सम्झौता भए पनि कम्पनीले काम पूरा नगरेपछि सार्वजनिक खरिद ऐनअनुसार ती सम्झौता रद्द गरी कम्पनीलाई कालो सूचीमा राखिएको थियो। यस निर्णयविरुद्ध कम्पनीले उच्च अदालतमा दायर गरेको रिट पनि खारेज भएपछि बाँकी लागत तथा दायित्व कम्पनीबाट असुल गर्ने बाटो खुलेको छ।

प्रकाशित मिति : २०८३ बैशाख ४ गते शुक्रवार