मुलुकबाट हुने आयात–निर्यात दुवै घट्यो, साढे ३ खर्बमाथि व्यापार घाटा


काठमाडौं । मुलुकबाट हुने आयात–निर्यात दुवै घटेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ३ महिनामा नेपालको वैदेशिक व्यापार ४.३५ प्रतिशतले घटेको हो।साउन, भदौ र असोजमा नेपालले कुल ४ खर्ब २९ अर्ब १३ करोड १० लाख ३८ हजारको व्यापार गरेको हो। अघिल्लो वर्षको सोही अवधिमा ४ खर्ब ४८ अर्ब ६३ करोड ३८ लाख ६६ हजारको व्यापार गरेको थियो।

यो अवधिमा नेपालको आयात ४.१७ प्रतिशतले घटेको छ। ३ महिनामा ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख २१ हजार रुपैयाँको आयात गरेको हो। जुन अघिल्लो आवको सोही अवधिमा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख ७५ हजार रुपैयाँ थियो।

यस्तै सो अवधिमा नेपालको निर्यात ६.११ प्रतिशतले घट्न पुगेको छ। ३ महिनामा नेपालले ३८ अर्ब ३७ करोड ८७ लाख १७ हजारको वस्तु निर्यात गरेको छ। जुन अघिल्लो आवको सोही अवधिमा ४० अर्ब ८७ करोड ४८ लाख ९१ हजारको भएको थियो।

आयात तथा निर्यात दुवै घट्दा व्यापार घाटा पनि थोरै घटेको छ। अघिल्लो वर्ष यही अवधिसम्म मुलुकको व्यापार घाटा ३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिमा ३.९६ प्रतिशतले घटेर ३ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँमा झरेको छ।

प्रकाशित मिति : २०८१ कार्तिक ८ गते बिहिवार