काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । बुधबार उनले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएसँगै गृहमन्त्रालयको जिम्मेवारी तत्कालका लागि प्रधानमन्त्री बालेन शाहले आफैं सम्हाल्ने भएका छन् ।
विवादित व्यापारी दीपक भट्टसँग साझेदारी रहेको तथ्य सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए । आफूविरुद्ध निष्पक्ष छानबिन होस् भन्ने मागसहित उनले पदबाट बाहिरिने निर्णय लिएका हुन् । सरकार गठन भएको २६ दिनमै उनले गृहमन्त्री पद त्यागेका हुन् ।
केही दिनअघि सार्वजनिक गरिएको उनको सम्पत्ति विवरण अस्वाभाविक रहेको भन्दै आलोचना भइरहेको थियो । त्यससँगै माइक्रो इन्स्योरेन्स लगायत क्षेत्रमा गरिएको थप लगानीको विवरण बाहिरिएपछि थप प्रश्न उठेका थिए । उनले सञ्चालन गरेको ‘हामी नेपाल’ नामक सामाजिक संस्थामा आएको सहयोग रकम व्यक्तिगत खातामार्फत कारोबार गरिएको आरोपसमेत लागेपछि उनीमाथि दबाब बढेको थियो ।
बढ्दो आलोचना र दबाबबीच गुरुङले अन्ततः पदबाट राजीनामा दिएका हुन् ।