गर्भवती मृत्यु प्रकरण : डाक्टर डीबी खत्री र सतिश रुपाखेती प्रहरी नियन्त्रणमा

गर्भवती मृत्यु प्रकरण : डाक्टर डीबी खत्री र सतिश रुपाखेती प्रहरी नियन्त्रणमा

बुटवलमा गर्भपतनका क्रममा पाल्पाकी २९ वर्षीया गीता पाण्डेको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा दुई चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा खत्री नर्सिङ होमका सञ्चालक डा. डीबी खत्री र इन्दुलेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा. सतिष रुपाखेती रहेका छन्।

मृतकका श्रीमान् प्रकाश पाण्डेले आर्थिक लाभको उद्देश्यले उपचारमा गम्भीर लापरवाही गरिएको आरोप लगाउँदै यी दुई चिकित्सकसहित पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। उक्त जाहेरीका आधारमा जोनल फार्मेसीकी सन्ध्या बस्नेत, निलम घर्ती मगर तथा इन्दुलेखा स्वास्थ्य क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डेलाई यसअघि नै पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार, प्रारम्भमा तीन जनालाई पक्राउ गरिएको र पछि सोधपुछका लागि बोलाइएका दुवै चिकित्सक मंगलबार साँझ आफैं उपस्थित भएपछि नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामध्ये अन्य तीन जनालाई जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ। घटनामा अन्य कसैको संलग्नता देखिएमा कानुनी कारबाहीको दायरामा ल्याइने पनि प्रहरीले स्पष्ट पारेको छ।

घटना विवरण

पाल्पाको बगनासकाली गाउँपालिका–२, ख्याहाकी गीता पाण्डे चैत २७ गते खत्री नर्सिङ होममा करिब १२ हप्ताको गर्भ जाँचका लागि पुगेकी थिइन्। सो क्रममा डा. खत्रीले गर्भ असामान्य रहेको भन्दै थप उपचारका लागि वैशाख ४ गते बोलाएका थिए। त्यसपछि वैशाख ५ गते श्रीमान् प्रकाश पाण्डेसहित उनी पुनः नर्सिङ होम पुगेकी थिइन्।

नर्सिङ होमले उनलाई लोकेसन म्याप दिँदै बुटवलस्थित जोनल फार्मेसी क्लिनिकमा पठाएको थियो। त्यहाँ १६ हजार रुपैयाँ खर्च लाग्ने बताउँदै २ हजार रुपैयाँ अग्रिम लिएर केही औषधि दिइएको र अर्को दिन पुनः आउन भनिएको थियो। त्यसपछि उनलाई इन्दुलेखा स्वास्थ्य क्लिनिकमा लगिएको र त्यहीँ गर्भपतन गराउने क्रममा उनको मृत्यु भएको आरोप छ।

मृतकका श्रीमान् प्रकाश पाण्डेका अनुसार, गर्भपतनपछि भ्रूण आफूलाई नदेखाइएको र श्रीमती अचेत भइसकेपछि कुनै जानकारी नदिई लुम्बिनी सिटी अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए।

उनले आफ्नी श्रीमती पूर्ण रूपमा स्वस्थ रहेको र कुनै दीर्घरोग नभएको दाबी गर्दै उपचारमा गम्भीर लापरवाही भएको बताएका छन्। साथै, घटनापछि जोनल फार्मेसीले सम्बन्धित कागजातहरू लुकाएको समेत आरोप लगाएका छन्।

प्रकाशित मिति : २०८३ बैशाख ९ गते बुधवार