अस्ट्रेलियामा नेपाली विद्यार्थीको पीडा: विक्रम लामाको मृत्युले उजागर गर्‍यो प्रणालीगत विफलता

अस्ट्रेलियामा नेपाली विद्यार्थीको पीडा: विक्रम लामाको मृत्युले उजागर गर्‍यो प्रणालीगत विफलता

काठमाडौं । अस्ट्रेलियामा नेपाली विद्यार्थी विक्रम लामाको हृदयविदारक मृत्युले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अवस्था, सामाजिक सुरक्षा प्रणालीको कमजोरी र नेपाल सरकारको गैरजिम्मेवारीबारे गम्भीर बहस सुरु गरेको छ।

बुधबार बिहान (नेपाली समयअनुसार) अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी अभियन्ता विजय सापकोटाले त्यहाँका सांसदहरूसँग भेट गर्दै यही विषय उठाएका छन्। अन्तर्राष्ट्रिय विद्यार्थीहरूको छाता संगठनका पूर्व अध्यक्षसमेत रहेका सापकोटाले विक्रम लामाको घटनालाई व्यक्तिगत दुर्घटना नभई व्यापक समस्याको संकेतका रूपमा लिन आग्रह गरेका छन्।

मकवानपुरको विकट गाउँबाट सन् २०१३ मा कम्प्युटर साइन्स पढ्न अस्ट्रेलिया पुगेका विक्रम लामाको जीवन संघर्षपूर्ण रह्यो। परिवारले उनलाई विदेश पठाउन नौ कट्ठा जग्गासमेत बेचेको थियो। तर भिसा अवधि सकिएपछि उनी परिवारसँग सम्पर्कविहीन भए र अन्ततः सिड्नीको सेन्ट जेम्स सुरुङमा घरविहीन अवस्थामा बस्न बाध्य भए।

स्थानीयले ‘बर्डम्यान’ भनेर चिन्ने विक्रम परेवाहरूलाई दाना खुवाउने गर्थे। तर ७ डिसेम्बरमा उनी मृत अवस्थामा फेला परे—त्यो पनि करिब एक हप्तापछि। शव यति सडिसकेको थियो कि पहिचान गर्नसमेत कठिन भयो। अन्ततः डीएनए परीक्षणमार्फत उनको पहिचान गरिएको थियो।

यो घटनाले अस्ट्रेलियामा बढ्दो घरविहीनता र त्यसमा आप्रवासीहरूको उच्च जोखिमलाई पनि उजागर गरेको छ। पछिल्ला तथ्यांकअनुसार त्यहाँ सडकमा सुत्ने मानिसहरूको संख्या तीव्र रूपमा बढिरहेको छ, जसमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू पनि परेका छन्।

सापकोटाका अनुसार, नेपाली विद्यार्थीहरूले भोगिरहेका समस्या गम्भीर छन्—कम पारिश्रमिक, भिसा सम्बन्धी डर, र सहयोगी निकायबारे जानकारीको अभाव। कानुनी रूपमा न्यूनतम पारिश्रमिक पाउनुपर्ने भए पनि धेरै विद्यार्थी अझै कम ज्यालामा काम गर्न बाध्य छन्।

उनले नेपाल सरकारलाई अस्ट्रेलिया जानुअघि नै विद्यार्थीहरूलाई आवश्यक जानकारी दिने प्रभावकारी प्रि–डिपार्चर कार्यक्रम लागू गर्न आग्रह गरेका छन्। साथै, दूतावासहरूलाई पासपोर्ट र औपचारिक काममा सीमित नरही संकटमा परेका नागरिकको सक्रिय सहयोगी बन्नुपर्नेमा जोड दिएका छन्।

अहिले यो घटनाले नेपाली डायस्पोरामा व्यापक बहस सिर्जना गरेको छ। तर सरोकारवालाहरूले समयमै गम्भीरता नदेखाए, विक्रम लामाजस्ता घटना दोहोरिन सक्ने खतरा कायमै रहनेछ।

प्रकाशित मिति : २०८३ बैशाख ९ गते बुधवार