• २०८३ असार १९ गते शुक्रवार
  • Preeti To Unicode

बालाजुमा तरकारी व्यापारीको प्रदर्शन, सडक अवरुद्ध ओखरपौवामा सडकमै तरकारी राखेर विरोध



काठमाडौँ – काठमाडौँको बालाजु माछापोखरी क्षेत्रमा सडक किनारामा तरकारी बेच्न नपाउने निर्णयविरुद्ध साना किसान र तरकारी व्यापारीहरूले विरोध प्रदर्शन गरेका छन्।

काठमाडौँ महानगरपालिकाले सडकमा तरकारी बिक्री गर्न रोक लगाएपछि विवाद चुलिएको हो। यही निर्णयको विरोधमा बिहीबार बिहान नुवाकोटको ओखरपौवा क्षेत्रका स्थानीयले प्रदर्शन गरे।

बिहान करिब ५:२५ बजे तीनपिप्ले–सिसडोल सडकखण्डमा सडकमै तरकारी राखेर विरोध जनाइएको थियो। प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्दै आफ्नो समस्या उजागर गरेका थिए।

प्रदर्शनमा ४० देखि ५० जना स्थानीयको उपस्थिति रहेको प्रहरीले जनाएको छ। स्थिति नियन्त्रणमा लिन ओखरपौवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रुपक थापा र ककनी प्रहरी चौकीका प्रहरी निरीक्षक कुमार बहादुर खड्काको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। केही समयपछि प्रहरीले सडक खुला गराएको छ।

बालाजु माछापोखरी क्षेत्रमा विगतमा बिहानैदेखि सडकमै तरकारी बिक्री हुने चलन थियो। तर, पछिल्लो केही हप्तायता काठमाडौँ महानगरपालिका र मेयर बालेन शाहको निर्देशनपछि सडक किनाराको व्यापारमा प्रतिबन्ध लगाइएको छ। यही निर्णयप्रति असन्तुष्टि जनाउँदै स्थानीय विरोधमा उत्रिएका हुन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार